धनगढीका कोभिड-१९ संक्रमितको बयान- 'संक्रमित भएको थाहा पाएपछि कुनै स्वास्थ्यकर्मी हेर्न आएका छैनन्'
कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् कोभिड-१९ संक्रमित युवाले आफ्नो अवस्था सामान्य रहेको र चाँडै निको हुनेमा आफू ढुक्क रहेको बताएका छन्।

आज देखापढीसँगको टेलिफोन कुराकानीमा उनले हिजो अपराह्न आफूलाई कोभिड-१९ को संक्रमण पुष्टि भएदेखि कोही स्वास्थ्यकर्मी भेट्न नआएको र तातो पानी पिउने व्यवस्थासमेत हुननसकेको बताए। "आज घरबाट पानी तताउँने भाँडा पठाइदिनुभएको छ", उनले भने।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षीय ती युवकले देखापढीका सुदूरपश्चिम संवाददाता दीपक नेपालसँगको कुराकानीमा यसो भनेः

साढे चार बर्षअघि म वैदेशिक रोजगारका लागि युनाईटेड अरब इमिरेट्स् (युएई) को दुबई गएको थिएँ। काम राम्रैसँग चलिरहेको थियो । कम्पनीले एक महीनाको विदा दिएपछि घर फर्किने सोच बनाएँ।

तर, त्यहीबेला नेपालले १ चैतबाट नै खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान बन्द गरेका कारण घर आउन नपाउने हो कि भन्ने चिन्ता पनि थियो।

विराटनगरका एकजना साथी पनि सँगै थिए। उनैले भारत भएर जान सकिने बताएपछि म र साथी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ आउने योजना बनायौं।

७ गते हामी दुबईबाट दिल्ली पुग्यौं। दिल्लीबाट काठमाडौँ उडान नियमित थियो। तर, हामीले काठमाडौं आउनका लागि ६ घण्टा पर्खिनुपर्ने भयो।

हामी दिल्लीको विमानस्थलबाट कतै बाहिर ननिस्की बिमानस्थलमै बस्यौं।

६ घण्टापछि दिल्लीबाट काठमाडौँका लागि एअर एसशयाको जहाजमा उड्यौं।

त्यो दिन धनगढी जान सम्भव नभएपछि धापासीमा रहेको मामाको घरमा बसें। साथी पनि आफन्तकोमा गयो।

अर्को दिन, ८ चैतमा धनगढीको टिकट नपाएपछि नेपालगन्ज भएर धनगढी जाने निधो गरें र म बुद्ध एअरको विमानमार्फत् नेपालगंज आएँ।

सोही दिन नोपलगञ्जबाट महेन्द्रनगरको सार्वजनिक बसमा चढें र अत्तरिया झरें। अनि अत्तरियाबाट अर्को सार्वजनिक गाडीमा धनगढी पुगें।

त्यसपछि घरपरिवार र छरछिमेकीसँग सामान्य भेटघाट भयो। घरमा बा आमा, श्रीमती, सानो छोरी, दाइभाउजु अनि भतिजी छन्।

११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि म आफै सेती प्रादेशिक अस्पताल धनगढीमा आएको हुँ।

यहाँ आएपछि डाक्टरहरुले आईसोलेसनमा बस्न सुझाए। र मेरो थ्रोट स्वाब लिएर काठमाडौ पठाए।

आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजिटिभ भएको सुनाउँदा म आफैँ अचम्मित भएँ।

अहिले मलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ। हिजोको रिपोर्टपछि अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी मलाई भेट्न आउनु भएको छैन्।

मैले तातो पानीसमेत पिउन नपाएपछि अहिले घरबाट पानी तताउँने भाँडा पठाइदिनु भएको छ।

म सन्चो हुन्छ भन्ने कुरामा ढुक्क छु । अहिले मेरो अवस्था सामान्य छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्