'लकडाउन' नेपाल : ज्यालादारी श्रमिकको लागि राहत प्याकेज ल्याउँदै प्रदेश १ सरकार

विराटनगर। प्रदेश १ सरकारले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि देशभर लागू गरेको लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न वर्गका व्यक्तिहरूलाई राहत प्याकेज ल्याउने भएको छ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवालासँग छलफल गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा बोलाइएको सर्वपक्षीय बैठकमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आपूर्ति सहज बनाउने साथै न्यून आय भएका श्रमिकहरूलाई राहत दिनेबारे छलफल भएको छ।

लकडाउनका कारण दैनिक रोजिरोटीमा समस्या भएकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई एक/दुई दिनमा राहत प्याकेज घोषणा गर्न लागिरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।

सर्वपक्षीय बैठकमा मुख्यमन्त्री राईले कोभिड-१९ सँग जुध्न तयारी तथा प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका काममा एकजुट भएर सहयोग गर्न आग्रह गरेका छन्।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्