अत्यधिक रक्तश्राव भएपछि खोटाङकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौं। खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ की पाँच महीनाकी गर्भवती २२ वर्षीया सिर्जना तामाङको अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा ल्याइएकी उनको अत्यधिक रक्तश्राव भएर अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरेर काठमाडौं ल्याइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको हो। अहिले उनको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रिरोग अस्पतालमा उपचार भइरहेको छ।

पाँच महीनाकी ती गर्भवतीलाई हिजाे १४ चैत साँझदेखि रक्तश्राव भएको थियो। गर्भमा रहेकाे शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडाैं रिफर गर्नुपर्ने अवस्था देखिएपछि अहेव निर्मला शर्माले खोटाङका प्रतिनिधि सभा सांसद् विशाल भट्टराईलाई उनको अवस्थाबारे जानकारी दिएकी थिइन्।

सांसद् भट्टराईले आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराएको र त्यसपछि सेनाको हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

सरकारले दुर्गम क्षेत्रमा प्रसूति व्यथाले जोखिम अवस्था भएकाहरूलाई हेलिकप्टमार्फत् उद्धार गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्