बागलुङकी कोभिड-१९ संक्रमितको स्वास्थ्यबारे चिकित्सक भन्छन्- 'आत्तिनु पर्ने अवस्था छैन'
गलकोट। कोभिड-१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकाकी १९ वर्षीया युवतीलाई धौलागिरी अस्पतालमा ल्याएर उपचार थालिएको छ।

घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएसँगै अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार शुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ पोखरेलले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखेका छौं, दैनिक रिपोर्ट लिन्छौँ, परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेका थियौँ, त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्नेछौँ ।’

बेल्जियममा रहेकी आमालाई भेटेर दुई महीना बसेर उनी ४ चैतमा कतार एअरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

फ्रान्सबाट कतार हुँदै त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण भएपछि खोजी गर्दै जाँदा सोही जहाजमा यात्रा गरेकी उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

यही १२ चैतमा बागलुङ नगरपालिकाको पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर उनको नमूना संकलन गरेका थिए।

ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन्।

नमूना संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्