११३७ मा हत्तपत्त फोन लाग्दैन, लागे पनि उठ्दैन

काठमाडौं। उपभोक्ताको गुनासो सुन्‍न तयार पारिएको टोल फ्री नम्बर ११३७ माथि नै उपभोक्ताले गुनासो गर्न थालेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्‍चालनमा ल्याएको टोल फ्री नम्बरमा फोन नै नउठ्ने गरेको गुनासो छ।

विभागले उपभोक्ताको गुनासो सुन्‍न उक्त नम्बर तीन वर्षदेखि सञ्‍चालन गरिरहेको छ । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित नेपालमा पनि भेटिन थालेपछि यो नम्बरलाई अझ सक्रिय बनाइएको विभागको भनाइ छ।

आपूर्ति मन्त्री लेखराज भट्टले कुनै गुनासो भए सोही नम्बरमा फोन गर्न उपभोक्तालाई आग्रह गर्दै आएका छन् । तर, न त त्यस नम्बरमा सहजै फोन लाग्छ, न फोन लागे पनि उठ्छ ।

उपभोक्ताले कुनै दैनिक उपभोग्य वस्तु नपाए ११३७ नम्बरमा फोन गरेर समस्या टिपाए तत्काल उपलब्ध गराइने आपूर्ति मन्त्रालयले बताउँदै आएको छ। व्यापारीले कुनै सामान लुकाएर कृत्रिम अभाव सिर्जना गराए पनि सोही नम्बरमा गुनोसो टिपाउने व्यवस्था छ । गुनासोलगत्तै सरकारी टोलीले सम्बन्धित व्यापारीलाई पक्राउ गरेर तत्काल कारबाही थाल्ने व्यवस्था छ।

“तर, त्यही नम्बरमा फोन लाग्दैन,” रामेछाप घर भई काठमाडौं बागबजार बस्दै आएकी अञ्जु कार्कीले भनिन्, “घरमा खाना पकाउने ग्यास सकिएको छ, बजारमा पाइँदैन । तर, गुनासो गर्ने नम्बरमै फोन उठ्दैन।” अधिकांश समय व्यस्त रहने फोन लागिहाले पनि उठ्दै नउठ्ने गरेको उनले बताइन्।

बागबजार बस्दै आएका सिन्धुलीका भुवन बस्नेतको समस्या पनि उस्तै छ। खाना पकाउने ग्यास कतै नपाएपछि इन्डक्सन चुलोबारे जानकारी लिन उनले उक्त नम्बरमा बारम्बार सम्पर्क गर्न खोजे। फोन उठिहाल्यो भने पनि कर्मचारी छैनन् भन्‍ने जवाफ पाइरहेका छन्, उनले ।

दोलखाको चरिकोट घर भएका होमबहादुर श्रेष्‍ठको गुनासो विभागका कर्मचारीले टिपे। तर, अहिलेसम्म समस्या समाधान भएको छैन। उनको समस्या पनि ग्यास नपाएको नै हो।

प्रतिक्रिया दिनुहोस्