अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
<p>काठमाडौं। कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिन थप सजगता अपनाउनेबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।</p>
<p>अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। “कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न अपनाउनुपर्ने थप सुरक्षालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो”, उनले देखापढीसँग भनिन्, “अहिले भइरहेको तयारी र अब गर्नुपर्ने तयारी लगायतका सबै विषयमा केन्द्रित रहने छ।”</p>
<p>बालुवाटार स्रोतका अनुसार आजको बैठकले विशेष राहत प्याकेज ल्याउने लगायत विशेष निर्णय गर्ने जनाइएको छ। बैठकले ११ चैतदेखि गरेको लकडाउन लम्बाउने वा के गर्ने भन्ने विषयमा पनि निर्णय गर्ने जनाइएको छ। कोरोना भाइरस(कोभिड १९) का संक्रमति नेपालमा पनि अहिलेसम्म ५ जना पुष्टि भइसकेको र अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउन बढाउन सक्ने स्रोतले जानकारी दिएको छ।</p>
<p>९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले १८ चैत बिहान ६ बजेसम्म देशैभर लकडाउन गर्ने निर्णय गरेको थियो। १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना(कोभिड १९) रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको थियो। आजको बैठकमा उक्त समितिले गरेको कामको समीक्षासमेत हुने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्