बागलुङकी कोभिड-१९ संक्रमितसँगै कतार एअरवेजबाट आएका दुईजनाको नमूना परीक्षण गरिने

काठमाडौं। कोभिड-१९ संक्रमणको पुष्‍टि भएकी बागलुङ नगरपालिका-३ की १९ वर्षीया युवतीको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

उनलाई राति १० बजेतिर अस्पतालमा भर्ना गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए।

“अस्पतालमा आईसीयू, भेन्टिलेटर लगायतको सुविधा छैन”, उनले भने, “अहिले उनलाई आइसोलेसनमा राखेर उपचार गरिदै छ।”

ती युवतीको उपचारमा सहयोग गर्न काठमाडौं र पोखराबाट सरुवा रोग विशेषज्ञ चिकित्सको टोली बोलाइएको पौडेलले बताए।

अहिले युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

“ती युवतीको घरमा रहेका ७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ”, उनले भने, “उनीहरुमा लक्षण देखिएमा परीक्षण गर्ने अस्पतालले जानकारी गराएको छ।”

संक्रमित ती युवतीसँगै कतार एअरवेजबाट आएकी आएकी बागलुङ- ३ कै अर्की ६५ वर्षीया महिलासमेत रहेको मेयर पौडेलले भने।

अर्का बुर्तिवाङका युवक पनि कतार एअरवेजबाटै आएका थिए। उनीहरु दुवैको पनि थ्रोट स्वाब परीक्षण गर्नेबारे छलफल भइरहेको छ।

काठमाडौंबाट यति एअरको विमानबाट पोखरा पुगेर उनीहरू बागलुङ पुगेका हुन्।

संक्रमित युवतीलाई पोखराबाट स्कार्पियोमा रिसिभ गरेर ल्याउने उनकै नातेदारहरू पनि होम क्वारेन्टाइमा बसेका छन्।

नगरपालिकाले ६५ वर्षीया महिला र अर्को युवकका परिवारलाई पनि क्वारेन्टाइनमा राखेको छ।

विदेशबाट आएका, उनीहरुका परिवार र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर होम क्वारेन्टाइनमा राखिएको र नगरवासीलाई पनि सुरक्षित साथ घरमै बस्न अनुरोध गरिएको छ।

नगरपालिकाले नगर क्षेत्रमा संक्रमणबाट जोगिन केमिकल छर्किने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्