कोभिड-१९ उच्चस्तरीय समितिको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री संयोजकत्वको कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक केही बेरमा सिंहदरबारमा बस्दैछ।

आजै अपरान्ह बोलाइएको मन्त्रिपरिषद्को बैठक बस्नुअघि समितिको बैठक तय गरिएको हो।

दिउँसो १ बजे बैठक बस्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।

आजको बैठकमा कोभिड-१९ परीक्षण र उपचारका लागि चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण गर्ने लगायतका विषयमा छलफल छलफल हुने बताइएको छ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले देशैभर औषधी लगायतका स्वास्थ्य सामग्री पठाउने, अत्यावश्क वस्तुको आपूर्ति गर्ने लगायतका विषय बैठकको मुख्य अजेण्डा रहेको जानकारी दिए।

“लकडाउनका क्रममा सर्वसाधारणलाई घरमै बस्न पटक-पटक आग्रह हुँदै आएको छ”, उनले देखापढीसँग भने, “लकडाउनको आजसम्मको समीक्षा र आगामी दिनको कार्ययोजना पनि बैठकमा छलफल हुनेछ। ”

आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा दिउँसो समितिको बैठकले गरेका निर्णयहरू प्रस्तुत हुने बिडारीले बताए।

प्रतिक्रिया दिनुहोस्