ललितपुरकाे महाङ्कालमा १५ शय्याको क्वारेन्टाइन तयार

ललितपुर। ललितपुरको महाङ्काल गाउँपालिकाले १५ शय्याको क्‍वारेन्टाइन तयार गरेको छ। गाउँवासीमा कोभिड-१९ को स‌ंक्रमण फैलिए उपचारका लागि आवश्यक महसुस गरी उक्त शय्या तयार गरिएको हो।

महाङ्कालका तीन स्वास्थ्यचौकीमा १५ शय्याको क्वारेन्टाइन तयार गरिसकेको गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बताए। उनले भने, “हामीले वडा नं २, वडा नं ५ चन्दनपुर र वडा नं ७ गोटीखेल स्वास्थ्यचौकीमा पाँच/पाँच शय्याको क्वारेन्टाइन तयार गरिसकेका छाैं।” आजसम्म गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित कोही व्यक्ति नभेटिएको दाहालले जानकारी दिए।

गाउँपालिकाले विदेशबाट आएका ११ जना गाउँवासीलाई होम क्वारेन्टाइनमा बस्न लगाइरहेको छ। यी क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था आजसम्म राम्रो छ। गाउँपालिकाका सार्वजनिक स्थानलगायतका चिया पसलमा कसैलाई पनि बसेर गफ गर्न नदिएको दाहालकाे भनाइ छ।

गाउँपालिकाले ६ स्वास्थ्यचौकी र गाउँपालिका परिसरमा गरी सात स्थानमा स्वास्थ्य डेस्क राखेको छ। गाउँपालिकाले बिरामीलाई मध्यनजर गरी २४ सै घण्टाका लागि एउटा एम्बुलेन्स व्यवस्था गरेको छ।

गाउँपालिकाले डेढ महीना अघिदेखि विदेशबाट गाउँ फर्केका व्यक्तिको निरीक्षण गरिरहेको बताइएको छ। गाउँबाट हरेक दिन बजार जाने सवारीसाधनमा नयाँ व्यक्ति भित्रिएका छन् कि भनी निरीक्षण गर्ने, काेभिड-१९ रोगसम्बन्धी अनभिज्ञ जनतालाई पर्चा वितरण गरी जानकारी दिने, नयाँ मान्छे गाउँमा देखिए किन आएको भनी प्रश्न गरी सम्बन्धित स्थानमा फर्काउने र गाउँमा रहेका दुई र चारपाङ्ग्रे सवारी साधनलाई एक टोलबाट अर्काे टोलमा जान नदिएको दाहालकाे भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्