बुटवलको कोरोना विशेष अस्पतालमा राखिएका एक बिरामीको मृत्यु

बुटवल। बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका अन्दाजी ३५ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युबारे अस्पतालले आधिकारिक जानकारी दिएको छैन। उनी कोभिड-१९ को बिरामी भए नभएको जाँच्न स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। अहिलेसम्म उनको रिपोर्ट आइसकेको छैन।

रिपोर्ट नआउँदा उनको सम्पर्कमा आएका व्यक्ति र परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्ने वा उनीहरूको नमूना परीक्षण गर्ने जस्ता काममा अन्योल देखिएको छ। आज नमूना पठाइएका कारण त्यसको रिपोर्ट आइनसक्दै मृत्युको कारणबारे भन्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।

उनी दुबईबाट ८ चैतमा नेपाल आएका थिए। सामान्य ज्वरो लिएर आएका उनलाई त्यसपछि खोकी लागेपछि १३ चैतमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थिए।

शुरूमा परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल गएका थापालाई कोरोना भाइरस संक्रमणको आशंकामा चिकित्सकले विशेष अस्थायी अस्पतालमा रेफर गरेका थिए। थापाले दुबईमा ट्याक्सी ड्राइभरको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्