दुई वर्षमा नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग दिने राष्ट्रपति सीको घोषणा

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सो घोषणा गरेका हुन्।

यो सहयोग रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ। नेपालीको जीवनस्तर उकास्नका लागि भन्दै उनले सो रकम सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यस अवसरमा नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको उनले बताए । उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको बताए ।

उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माण गरिने स्पष्ट पारे । चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए ।

राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए । नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेकोसमेत जानकारी दिए ।

सुरेन्द्रबहादुर नेपाली / रासस

प्रतिक्रिया दिनुहोस्