जर्मनीका मन्त्रीले गरे आत्महत्या

बर्लिन। कोभिड-१९ का कारण अर्थतन्त्र अधोगतिमा लाग्दै गर्दा जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस साफरले आत्महत्या गरेका छन्। राज्यका प्रमुख भोल्कर बुफियरको भनाइमा उनी केही दिनदेखि आर्थिक गिरावटको सामना गर्ने विषयमा गम्भीर रूपमा चिन्तित थिए।

स्थानीय समयअनुसार गत शनिबार ५४ वर्षीय साफर रेलको लिकनजिक मृत फेला परे। उनले आत्महत्या गरेको सरकारी अधिकारीहरूको भनाइ छ।

‘यस घटनाबाट हामी स्तब्ध छौं, उनको निधनप्रति विश्वास नै गर्न सकिरहेका छैनौं,’ बुफियरले भनेका छन्, ‘अत्यन्तै पीडादायी घटना हुन पुग्यो।’

जर्मनीको आर्थिक राजधानी फ्र्यांकफर्ट हेसे राज्यमै पर्छ, जहाँ डच बैंक, कमर्ज बैंकलगायत मुख्य ऋणदाताहरूका मुख्यालयहरू छन्। युरोपियन केन्द्रीय बैंक पनि फ्र्यांकफर्टमै छ।

मन्त्री साफर एक दशकयता हेसे राज्यको वित्तीय प्रमुख थिए। र, कोरोना महामारीविरुद्ध लड्नका लागि कम्पनी र श्रमिकहरूलाई सहयता गर्न दिनरात काम गरिरहेका थिए।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि घटनाबाट दुःखी भएको बताएकी छन्। मन्त्री साफरलाई राज्य प्रमुख बुफियरका उत्तराधिकारीका रूपमा पनि हेर्ने गरिएको थियो। दुवै चान्सलर मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू)का प्रभावशाली नेता मानिन्छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्