त्रसित व्यापारी, सुनसान तरकारी बजार
काठमाडौं। लकडाउनको समयमा ढुवानीमा समस्या हुँदा तरकारीको मूल्य उकालो लागेको छ। अन्य जिल्लामा उत्पादित तरकारी काठमाडौं उपत्यकामा भित्र्याउन समस्या भएकाले मूल्य बढेको हो।

कालिमाटीका फलफूल तथा तरकारी व्यवसायीहरूका अनुसार भक्तपुर, ललितपुर र कीर्तिपुरको उत्पादन मात्र उपत्यकामा ढुवानी हुने गरेको छ। अन्य जिल्लाको उत्पादन उपत्यकामा भित्र्याउन समस्या भइरहेको उनीहरू बताउँछन्।

कालिमाटी तरकारी बजारमा उपत्यकाबाहेक काभ्रे, धादिङ, चितवन, मकवानपुरलगायत जिल्लाबाट तरकारी ल्याइन्छ। लकडाउनका कारण ती जिल्लाबाट तरकारी काठमाडौं ल्याउन सकिएको छैन।

ढुवानीका साधनका चालक र सहचालक बिदामा बसेकाले पनि समस्या आएको व्यवसायीहरू बताउँछन्। लकडाउनका कारण लामो दूरीका सवारी साधन पनि सञ्चालन भएका छैनन्।

पसल खोल्नै डराउन थाले व्यापारी
कालिमाटी तरकारी बजारका केही व्यापारीले पसल खोल्नै छाडेका छन्। बिहान र साँझपख अन्य सामान्य अवस्थाकै जस्तो भीड हुन थालेपछि कोरोना भाइरसको संक्रमण हुने त्रासमा उनीहरू देखिएका हुन्।

उक्त तरकारी बजारका व्यापारी भगवान कोइरालाले १० दिनदेखि पसल खोलेका छैनन्। तरकारी अत्यावश्यक वस्तुको सूचीमा पनि नपर्ने भएकाले आफूले पसललाई भन्दा जीवनको सुरक्षालाई मुख्य प्राथमिकता दिएको उनी बताउँछन्।

अर्का व्यापारी रोशन श्रेष्ठको पसल एक सातायता बन्द छ। “पसलमा कुहिने तरकारी धेरै थियो। तर, तरकारी जोगाउने चक्करमा संक्रमित हुन सक्ने सम्भावना छ,” उनी भन्छन्।

कोरोना संक्रमण देखिन थाल्नुअघि कालिमाटी तरकारी बजारमा गोलभेडाको औसत मूल्य प्रतिकिलो २० रुपैयाँसम्म थियो। अहिले बढेर ६५ देखि एक सय १५ रुपैयाँ प्रतिकिलोसम्म छ। यस्तै, काउलीको मूल्य प्रतिकेजी २३ रुपैयाँसम्म रहेकामा अहिले ५५ देखि ६५ रुपैयाँसम्म छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्