कैलालीका गाउँमा अपरिचितलाई ‘नो इन्ट्री’

कैलाली। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन कैलालीका युवाले अपरिचितलाई गाउँ प्रवेशमा निषेध गर्न थालेका छन्।

गाउँ-गाउँमा युवाले बाटो बन्द गर्दै एक गाउँबाट अर्को गाउँं प्रवेशसमेत रोक्न थालेका छन्। टीकापुर नगरपालिका-१, सतघरुवाका युवाले आफ्नो गाउँको बाटो बन्द गरेका छन्।

‘‘पछिल्लो समय भारतलगायत अन्य मुलुकबाट आउनेबाट कोरोना भाइरसको सम्भावित जोखिम हुनाले गाउँको सबै बाटोमा छेकबार लगाएका छौं’’, सतघरुवाका लक्ष्मी चौधरीले भनिन्, ‘‘स्वतः स्फुर्तरूपले युवाले लकडाउन भन्दै बाटो बन्द गर्न थालेका हौं। हामी मात्र होइन अन्य गाउंँका युवाले पनि कसैले बार, कसैले छेकबार लगाएर आउजाउ बन्द गरिरहेका छन्।’’

नागरिक सचेत गराउन गाउँमा बडघर र चिराकीले कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षण लगायतबारे जानकारीसमेत दिन थालेका छन् । भारतबाट लकडाउन उल्लङ्घन गर्दै स्वदेश फर्किने क्रम नरोकिएपछि युवाले गाउँगाउँ नै लकडाउन गर्न थालेको बडघर बाबुराम चौधरीले बताए। डाँफेमुनाल टोलविकास संस्थाको समन्वयमा गाउँका युवाले लकडाउन गरेका हुन्।

‘‘ग्रामीण क्षेत्रमा जुवातास खेल्ने लगायतका कार्य गरेको पाइएमा ५०० रूपैयाँ जरिवाना तोकेका छौं’’, उनले भने।

कैलालीको जोशीपुरका युवाले समेत गाउँ प्रवेश निषेध गरेका छन्। जोशीपुरका युवाले अपरिचित व्यक्ति वा अर्को गाउँंको व्यक्तिलाई आफ्नो गाउँमा प्रवेशमा रोक लगाउन थालेका छन्।

‘‘कोरोनाको त्रासले शहर बजार तथा अन्य देशहरूबाट समेत मानिस गाउँ केन्द्रित भएका छन्’’, जोशीपुरका पदम परियारले भने, ‘‘हामी सम्भावित जोखिममा हुन सक्छौं भनी गाउँ-गाउँका बाटो बन्द गर्न थालेका हौं।’’

स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग समन्वय गर्दै अपरिचितमाथि निगरानी बढाएको बताएका छन्।

लम्की चुहाका ग्रामीण क्षेत्रका युवाले भारतबाट आएकाको खोजी गरी उनीहरूलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गर्न थालेका छन्। ‘‘हामीले भारतबाट आएकाहरूको खोजी गर्न थालेका छौं’’, लम्कीचुहाका धनराज विक भन्छन्, ‘‘भारतबाट आएकालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न अपिल गरेर त्यहाँ पठाउने, नमान्नेलाई सेल्फ क्वारेन्टाइमा बस्न सुझाव दिन थालेका छौं।’’ रासस

प्रतिक्रिया दिनुहोस्