स्वास्थ्य मन्त्रालयले भन्याे- ‘काेभिड-१९ बारे जथाभाबी नबोल्नू’

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभाबी नबोल्न आग्रह गरेको छ।

मन्त्रालयको आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले कोभिड-१९ का सम्बन्धमा जथाभाबी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको बताए।

“स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक हुने गरी कोभिड-१९ सँग सम्बन्धित धारणा नगर्न/नगराउन अनुरोध गर्दछौं”, उनले पत्रकार सम्मेलनमा भने।

यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोना भाइरसको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोधसमेत गरे। “अरू रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोना भाइरसको कारणले भन्ने गरिएको छ”, उनले भने, “नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारणले कोही मरेको छैन। संक्रमण भएकाको अवस्था सामान्य छ।”

उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए।

प्रतिक्रिया दिनुहोस्