महीना दिनको हाजिर गरी घरमै बसे हुम्लाका स्वास्थ्यकर्मीहरू

हुम्ला। कोभिड-१९ ले विश्वव्यापी प्रकोप रूप लिइरहेको बेला स्वास्थ्य संस्था नछाड्न सरकारको आदेशलाई अटेर गर्दै हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत् स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी घर हिँडेका छन्।

सिमकोट गाउँपालिका-७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरी शनिबारको समेत हाजिर गरेका छन्।

अहिले डाडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा सिटामोल र करारमा खटिएका एक अनमी मात्रै छन् । स्थायी दरबन्दीमा कार्यरत् स्वास्थ्यकर्मी भने स्वास्थ्य संस्था छाडेर घर हिँडेको स्थानीयवासीले बताएका छन्।

स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकीको सेवा धानिरहेकी छिन्।

८ चैतदेखि संयोजकसहित अन्य स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नभएको स्थानीयवासी टसी विकले बताए।

सामान्य उपचारका लागि स्वास्थ्य चौकी पुगे पनि औषधि र स्वास्थ्यकर्मी अभावमा त्यत्तिकै फर्किनुपरेको स्थानीयवासी बाँचु शाहीले गुनासो गरे।

करारमा रहेकी अनमी संगिता रोकायाले बिहानदेखि बेलुकासम्म एक्लैले काम गर्नुपरेको बताइन्।

स्वास्थ्यचौकीमा बालबालिकाका लागि प्रयोग गरिने औषधि केही पनि नभएको रोकायाले बताइन्।

कार्यालय सहयोगीलाई औषधि ल्याउनका लागि सदरमुकाम पठाए पनि नआएको र संयोजकलाई फोन गर्दा फोन नउठाएको उनको भनाइ छ।

यता सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले शनिबार हाजिर गर्न नमिल्ने र बिदामा पनि नबस्न सरकारले ह्वीप जारी गरेका बेला त्यस्तो गरेको पाइए कारबाही गरिने बताए। रासस

प्रतिक्रिया दिनुहोस्