धार्चुलामा अलपत्र नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखियो
दार्चुला। लकडाउनका कारण धार्चुलामा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ।

कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नेपाल आउन नदिने प्रशासनको निर्णयसँगै उनीहरूलाई धार्चुलामै क्वारेन्टाइनमा राखिएको दार्चुलाका सीडीओ यदुनाथ पौडेलले जानकारी दिए।

५६३ जनालाई त्यहाँको विद्यालय र सार्वजनिक भवनसमेत चार स्थानमा  १४ दिनका लागि राखिएको पौडेलले बताए।

भारतीय पक्षसँग छलफल गरी धार्चुलामा रहेका नेपालीलाई लडकडाउनको अवधिभर नेपाल प्रवेश गर्न नदिने निर्णय गरिएसँगै उनीहरुको व्यवस्थापन गरिएको हो।

उनीहरुको खाने-बस्ने व्यवस्था भारत सरकारले गर्ने र कुनै समन्वय गर्नुपरेको खण्डमा नेपालले सहजिकरण गर्ने समझदारी बनेको छ।

भारतका पिथौरागढका विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका उनीहरू कोरोना भाइरस संक्रमणको त्राससँगै घर फर्किएका हुन्।

तर, लकडाउनका कारण सीमा बन्द भएपछि झण्डै ५५० नेपाली भारतको धार्चुलामा अलपत्र परेका थिए।

उनीहरुमध्ये केही नेपाली ट्युबको सहायताले जोखिम मोलेर महाकाली नदीमा पौडेर नेपाल छिरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्