लकडाउनः घरायसी काममा महिलालाई अझ बढी चाहिन्छ पुरुषको साथ

काठमाडौं। देश लकडाउनमा छ। कोभिड-१९ को जोखिम भएकाले मानिसहरू घरबाहिर निस्कन पाएका छैनन्। महामारीको त्रासले जीवन कठिन बनेको छ। तर, ठिमीकी हसिना श्रेष्ठ भने अचेल खुशी छन्। उनले यो समयमा श्रीमान् र बच्चाको साथ पाएकी छन्।

“पहिले छोराछोरी र श्रीमान् घरमा नहुँदा एक्लै बस्नुपर्थ्यो, अहिले सबै घरमै छन्, खुशी छु”, उनले भनिन्।

छोराछोरी र श्रीमान् घरमा भएर मात्र उनी खुशी भएकी भने होइनन्। बरु उनीहरूले घरायसी काममा पनि सघाएकाले उनको खुशी थपिएको हो।

“मैले लुगा धुन थालेको छु भने श्रीमानले पखाली दिनुहुन्छ, बच्चाहरूले पनि खाना पकाउन सहयोग गर्छन्”, हसिनाले बताइन्।

नेपालका अधिकांश महिलाले भने हसिनाले जस्तो साथ पाएका छैनन्। उनीहरूको अवस्था कस्तो छ त ?

नेपाली समाजको संरचनात्मक अवस्थाले सामाजिक, धार्मिक एवं पारिवारिक रूपमा पुरुष र महिलाबीचको विभेद फराकिलो छ। यो संरचनात्मक विभेदका कारण महिलाले सधैँजसो घरायसी कामको बोझ एक्लै थामिरहनुपरेको छ।

वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ‘जेन्डर ग्याप इन्डेक्स-२०२०’ अनुसार नेपाल १५३ राष्ट्रमध्ये १०१औं स्थानमा पर्दछ।

जेन्डर ग्याप इन्डेक्सले महिला र पुरुषबीचको असमानता बताउँछ। भारत र चीनको तुलनामा नेपाल अगाडि छ तर, सबै देशको तुलनामा भने निकै पछाडि छ।

त्यसमाथि नेपाली समाजको संरचनात्मक अवस्थाले सामाजिक, धार्मिक एवं पारिवारिक रूपमा पुरुष र महिलाबीचको विभेद फराकिलो छ।

यो संरचनात्मक विभेदका कारण महिलाले सधैँजसो घरायसी कामको बोझ एक्लै थामिरहनुपरेको छ।

हुन त घरायसी कामलाई महिलाले गर्ने काम भनेर पन्छाइने गरिन्छ। पुरुषले घरबाहिर श्रम गरेर नगद पैसामा पारिश्रमिक ल्याउने भएकाले उसको कामको मूल्य देखिन्छ।

यदि महिलाले घरमा गर्ने कामको पनि पैसामै हिसाब गर्ने हो भने उनको योगदान कम हुने थिएन।

अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको एक अध्ययनअनुसार नेपालमा महिलाले औषतमा दैनिक ४ घण्टा घरायसी काम गर्छन् तर, पुरुषले भने ५६ मिनेटमात्रै गर्छन्।

महिलाले गर्ने श्रम अन्य देशमा भन्दा बढी रहेको पनि सोही अध्ययनले जनाएको छ। नेपालमा महिलाले मात्र गर्ने श्रम ८०.७ प्रतिशत छ।

लकडाउनको यो अवस्थामा यो बोझ अझै थपिएको छ। त्यसैले यस्तो बेलामा महिलालाई परिवारका पुरुषजनको सहयोगको खाँचो बढी छ।

“घरायसी काम हो भनिन्छ तर, बिहानदेखि बेलुकासम्म एकजना महिला एक्लै खटिएको हुन्छ। ठूलो परिवारमा त उसले आराम पनि गर्ने मौका नपाएको हुन सक्छ,” नेत्रहीन महिला संघकी उपाध्यक्ष ईच्छा केसी भन्छिन्, “त्यसैले घरको काम सबै मिलेर गर्नुपर्छ। लकडाउनको समयमा त यस्तो सहयोगको खाँचो अझ बढी हुन्छ। घरको काममा महिलालाई श्रीमान र बालबच्चा सबैले सघाउनुपर्छ।”

हुन त घरायसी कामलाई महिलाले गर्ने काम भनेर पन्छाइने गरिन्छ। पुरुषले घरबाहिर श्रम गरेर नगद पैसामा पारिश्रमिक ल्याउने भएकाले उसको कामको मूल्य देखिन्छ।

यदि महिलाले घरमा गर्ने कामको पनि पैसामै हिसाब गर्ने हो भने उनको योगदान कम हुने थिएन।

महिलाले गर्ने घरायसी कामलाई मौद्रिक मूल्यमा लगेर कुल गार्हस्थ उत्पादनमा जोडिनुपर्छ भन्ने अवधारणा भने नयाँ होइन।

कुल गार्हस्थ उत्पादनमा महिला श्रम

कुनै देशमा एक वर्षमा भएको वस्तु र सेवा उत्पादनको मौद्रिक मूल्यलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) भनिन्छ।

जीडीपीको आधारमा अर्थतन्त्रको समग्र आकलन गर्न थालिएको धेरै भयो। तर, यो जीडीपीमा लामो समयसम्म महिलाले घरमा गर्ने श्रम समेटिएको थिएन।

विभिन्न अध्ययनहरूले संसारमा अहिले पनि करोडौं महिला आफ्नो परिवारको लागि स्वच्छ पानी लिन ३० मिनेटभन्दा बढी हिँड्न बाध्य भएको देखाएका छन्।

सन् १९४१ मा २३ वर्षीया फिलिस डिनले घरायसी कर्ममा महिलाले गर्ने श्रमको पनि मौद्रिक मूल्य तोकिनुपर्ने र त्यसलाई जीडीपीमा समेट्नुपर्ने आवाज उठाइन्।

बेलायती उपनिवेशहरूमा जीडीपी गणना गर्न नियुक्त भएकी डिनले खाना बनाउने र दाउरा जम्मा गर्ने श्रमलाई जीडीपीमा नसमेटिनुलाई तर्कहीन भनेकी थिइन्।

‘यस्ता कामलाई महिलाको कामको रूपमा जीडीपीमा नजोडिनु त्रुटी हो’, डीनको निष्कर्ष थियो।

महिलाले गर्ने घरेलु कामलाई जीडीपीमा समावेश गर्न उनको टीमले महिनौं लगाएर गाउँ-गाउँमा सर्वेक्षण गरे।

यी सबै सर्वेक्षणबाट उनले निष्कर्ष निकालिन् - ‘यदि सरकारले समग्र राष्ट्रिय आयमा वृद्धि हुने र समग्रको समान वितरणको सुनिश्चितता गर्ने नीति बनाउने हो भने ग्रामीण महिलालगायत सबै उत्पादकहरूको योगदान गणना गर्नुपर्छ।’

डिनले यो प्रस्ताव राखेको सात दशकभन्दा बढी पुग्दा पनि महिलाले गर्ने घरायसी कामलाई जीडीपीमा समेटिएको छैन।

यसैबीच, गरिएका विभिन्न अध्ययनहरूले संसारमा अहिले पनि करोडौं महिला आफ्नो परिवारको लागि स्वच्छ पानी लिन ३० मिनेटभन्दा बढी हिँड्न बाध्य भएको देखाएका छन्।

हालै विश्व बैंकले भनेको छ, जीडीपीले केबल हाम्रो आयको प्रवाह गणना गर्न सक्छ, स्वास्थ्य स्याहार, शिक्षा र प्राकृतिक सम्पत्ति निर्माण भएको छ वा लुटिएको छ भन्ने चाहिँ बताउँदैन।

त्यसैले अर्थशास्त्रीहरूले आर्थिक प्रगतिको मापनका लागि नयाँ आह्वान गरेका छन्, जसमा घरायसी श्रम पनि जोडिन सक्छ।

प्रतिक्रिया दिनुहोस्