कोभिड-१९ ले खोस्यो चैतेदशैंको रौनक

काठमाडौं। कोरोना भाइरसको संक्रमण (कोभिड-१९)बाट बच्‍न सरकारले देशव्यापी लकडाउन गरेको असर चैतेदशैंमा देखिएको छ। सामान्य दिनचर्या रहेका वर्षमा जस्तो रौनक यसपटकको चैतेदशैंमा देखिएको छैन।

आज चैत्र शुक्ल अष्‍टमी। चैतेदशैंका अवसरमा विभिन्‍न शक्तिपिठमा बली दिने र पूजाआजा गर्ने चलन छ। यसपटक भने शक्तिपिठहरूमा विगतजस्तो रौनक छैन।

कर्णाली क्षेत्रमा चैतेदशैंलाई विशेष पर्वका रूपमा मनाइन्छ। यसपटक कर्णालीमा पनि यसको रौनक छैन। उपल्लो डोल्पा, हुम्ला र मुगुमा यसको रौनक बढी हुन्थ्यो विगतमा।

जाडो छल्न औलतिर झरेको उपल्लो डोल्पाका बासिन्दा जाजरकोटको नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा चैतेदशैं मनाएर उकालो लाग्‍ने गर्छन्। अर्थात्, यो आ-आफ्नो थातथलोमा फर्किने समय हो, उनीहरूको। उपल्लो डोल्पावासीले चैते दशैंलाई भोटे दशैं पनि भन्छन्।

यसपटक कोरोना भाइरसको संक्रमण हुने जोखिमका कारण परम्परा त्याग्‍न बाध्य हुनुपरेको शे-फोक्सुण्डो गाउँपालिका-५ डोल्पाका टसी गुरुङले बताए। नलगाड नगरपालिका-८ का हरिबहादुर खत्रीले भने, “गाउँगाउँमा जनप्रतिनिधिदेखि प्रहरी र स्वास्थ्यकर्मी लकडाउनको पालन गरौँ भन्दै हिँडिरहेका छन्, हामी आफैंलाई पनि कसरी ज्यान जोगाउने भन्‍ने चिन्ता छ, चैतेदशैँको त के कुरा भयो र ?”

“कोरोना भाइरसको त्रासका कारण एक घरबाट अर्कोमा जान अनुमति छैन, त्यसमा पनि डरका कारण आफैँ पनि जान मन लाग्दैन,” डोल्पोबुद्ध गाउँपालिका-२ का साङची लामाले भने, “गाउँभरि हिउँले भरिएको छ, आफन्त काठमाडौँबाट आउन पाएनन्, कसरी एक्लै चैतेदशैँ मनाउनु।” राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्