संकटमा जन्मेका सामाजिक संगठनहरू महामारीमा कहाँ हराए?

काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंकाले बुटवलको अस्थायी अस्पतालमा राखिएका श्रीमान् बाबुराम थापाको १६ चैतमा निधन भएपछि रिता दिनभर रुँदै बसिन्। छरछिमेक, आफन्त मात्र होइन समाजका जान्ने सुन्ने भद्रभलाद्मी कोही पनि उनको आँसु पुछ्न आएन। बेलुकीपख मात्र एकजना आफन्त आएर उनलाई लिएर गए। त्यस्तै संकट झेल्नुपर्‍यो धनगढीका कोरोना संक्रमितले पनि। उनलाई संक्रमणको शंका गरिएपछि एक हिसाबले बहिस्कृत जस्तै भए उनी।

लकडाउनको पहिलो दिन काठमाडौंको न्युरोड क्षेत्रमा भारी बोकेर जीवन गुजारा गरिरहेका भरियाहरू नाम्लो लिएर काम खोज्दै हिँडेका थिए। उनीहरूलाई के कारणले शहरका पसल र सडक एकाएक मानवविहिन हुनपुगे भन्ने पनि थाहा थिएन।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको एउटा टोलमा भारतबाट आएका केही युवा क्वारेन्टाइनमा बस्न मानेनन्। कसैले कतै केही भने कुट्ने धम्की पनि दिए। केही युवाले वडाध्यक्षलाई फोन गरेर उनीहरूबारे जानकारी गराएपछि अन्ततः क्वारेन्टाइनमा राखियो।

विश्वव्यापी महामारी कोभिड-१९ बाट जोगिन सरकारले ‘लकडाउन’ (बन्दाबन्दी) घोषणा गरेपछि यस्ता समस्या आम बन्दै गएका छन्। लकडाउनको समय लम्बिँदै जाँदा यस्ता समस्या अझ बढ्ने देखिन्छ। उता सरकारलाई भने लकडाउन पालना गराउन नै हम्मेहम्मे परिरहेको छ। तर, संकट व्यवस्थापनमा सरकार बाहेकका संस्थाहरू खासगरी सामाजिक संगठनहरू त्यति क्रियाशील भइसकेका छैनन्।

गुठी, टोल विकास समिति, आमा समुह, सामुदायिक वन उपभोक्ता समिति, स्कुल व्यवस्थापन समिति जस्ता स्वप्रयासमा खडा भएका र अनुदान तथा कार्यक्रम विशेष बजेटमा चल्ने थुप्रै गैर–सरकारी संस्थाहरू नेपाली समाजमा सधैंभरी क्रियाशील रहने गरेका छन्। तर, कोभिड-१९ को संकटमा केही ठाउँमा राहत वितरणमा बाहेक यी संस्थाहरू अपेक्षित रुपमा क्रियाशील भएको पाइँदैन। स्वास्थ्य संवेदनशीलताका कारण पनि यसो भएको हुनसक्छ। तर, के यस्ता सामाजिक संगठनहरूको कुनै भूमिका हुँदैन त?

“अवश्य पनि संकटको बेला मुख्य भूमिका राज्यकै हुन्छ”, मानवशास्त्री गौरव केसी भन्छन्, “तर, राज्यको पहुँच नपुग्ने ठाउँमा सामाजिक संगठनहरू चाहिन्छन्।”

“क्वारेन्टाइनमा राख्ने, आर्थिक अभाव भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने लगायतका काम सामाजिक संगठनहरूले गर्न सक्छन्। अस्पताल पुर्‍याउन पनि यी संगठनहरू चाहिन्छन्।” - डा. शरद वन्त, जनस्वास्थ्यविद्

राजनीतिशास्त्री भास्कर गौतम त संकटको समयमा सामाजिक संगठनहरू जन्मिएको र क्रियाशील भएको इतिहास सम्झाउँछन्।

“सरकारले सामाजिक दायित्व निर्वाह गर्न नसकेको अवस्थामा सामाजिक संगठनहरू क्रियाशील भएको इतिहास छ”, गौतम भन्छन्, “१९९० सालको भुकम्पको बेलामा दयावीरसिंह कंसाकारको नेतृत्वमा सामाजिक गतिविधी भएको थियो। उनीहरूको अनौपचारिक संगठनले पछि गएर परोपकार संस्थाको निर्माण गर्‍यो। परोपकार अस्पताल बने।”

त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ पनि यो संकटको समयमा मानवता आवश्यक रहेको बताउँछन्। तर, हाम्रा सामाजिक संगठनहरू कमजोर बन्दै गएको गुनासो छ उनको।

“सरकारी र कर्मचारीतन्त्रीय संस्थाहरूको विरासतले ती संगठन कमजोर भएका छन्”, चेम्जोङ भन्छन्। यद्यपि उनी रेडक्रस र त्यो जस्तै संस्थाहरूको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्छन्।

तर, सामाजिक संगठनहरूका लागि पनि सहज समय भने यो होइन। “समय फरक छ। संवेदनशीलता पनि फरक छ”, गौतम भन्छन्।

यो संवेदनशील घडीमा सामाजिक संगठनले गर्न चाहिँ के सक्छन् त?

“आपतकालीन सहायता, खाद्यान्न, आवास, लत्ताकपडा, बसोबासमा सामाजिक संस्थाले गर्न सक्ने काम धेरै छ ।” - भास्कर गौतम, राजनीतिशास्त्री

जनस्वास्थ्यविद् डा. शरद वन्त यो स्वास्थ्य संकटलाई प्रकोपका रुपमा लिन्छन्। उनका अनुसार यो प्रकोपसँग जुध्ने तीनवटा पक्ष छन्।

पहिलो प्राविधिक पक्ष हो। यस अन्तर्गत भाइरसबारे जानकारी बटुल्ने, यसको जीव वैज्ञानिक चरित्र बुझ्ने, यसलाई रोक्ने रणनीति बनाउने र उपचार एवं खोप विकास गर्ने जस्ता कार्य पर्दछन्। “यो मूलतः वैज्ञानिकहरूको काम हो। यसका लागि अन्तर्राष्ट्रिय रुपमै सहकार्य भइरहेको छ”, डा. वन्त भन्छन्।

दोस्रो नीतिगत पक्ष हो। संकटको समयमा उपलब्ध जनशक्ति कसरी परिचालन गर्ने र महामारी फैलिन नदिन आवश्यक नीति बनाउने र अवलम्बन गर्ने काम सरकारको हो।

तेस्रो सामाजिक पक्ष हो। यो प्रकोपका कारण सिर्जित सामाजिक, पारिवारिक र व्यक्तिगत अप्ठ्याराहरूसँग जुध्ने काम सामाजिक दायित्व हो। “यो दायित्व सामाजिक संगठनहरूले निर्वाह गर्न सक्छन्”, डा. वन्त भन्छन्।

“आपतकालीन सहायता, खाद्यान्न, आवास, लत्ताकपडा, बसोबासमा सामाजिक संस्थाले गर्न सक्ने काम धेरै छ”, भास्कर गौतम भन्छन्। गौतम त कोरोना परीक्षणका लागि आवश्यक किट्स र प्रतिरोधात्मक पोशाक (पीपीई)का लागि पनि सामाजिक संगठनलाई छुट दिनुपर्ने धारणा राख्छन्।

“मेडिकलजन्य सामग्री आयातमा पनि सामाजिक संगठनहरूको भूमिका हुनसक्छ। यसका लागि सरकार लचिलो हुनुपर्छ”, गौतम भन्छन्, “भुकम्पको बेला पनि एकद्वार नीति अपनाइएको थियो। तर, त्यो सफल भएन।”

“राज्यको पहुँच नपुग्ने ठाउँमा सामाजिक संगठनहरू चाहिन्छन् ।" - गौरव केसी, मानवशास्त्री

डा. वन्त भने सामाजिक दायित्वलाई नै जोड दिन्छन्। उनी भन्छन्, “क्वारेन्टाइनमा राख्ने, आर्थिक अभाव भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने लगायतका काम सामाजिक संगठनहरूले गर्न सक्छन्। अस्पताल पुर्‍याउन पनि यी संगठनहरू चाहिन्छन्।”

आपतकालीन अवस्थामा स्वास्थ्य संस्थासम्म पुर्‍याउने, राहत बाँड्ने जस्ता काम सामाजिक संगठनहरूले सधैँ गरी आएका छन्। डा. वन्तका अनुसार कोभिड-१९ विरुद्ध लड्न सामाजिक संगठनले निम्न भूमिका खेल्न सक्छन्ः

१. जनचेतना निर्माण

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन अपनाउनपर्ने सावधानीका उपाय सुझाएको छ। नियमित हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका यस्ता सावधानीका उपाय अवलम्बन गर्न सरकारले बनाएको जनचेतनाको नीतिगत फ्रेमवर्कलाई सामाजिक संगठनहरूले लागू गर्न सक्छन्।

२. निगरानी र नियमन

कोरोनाभाइरस हावामा उडेर आउने होइन। यो मानव शरीरबाट संक्रमण हुने हो। त्यसैले नै क्वारेन्टाइनको अवधारणा अवलम्बन गरिएको हो। समयमै सीमानाका र अन्तर्राष्ट्रिय उडान बन्द नहुँदा अहिले विदेशबाट फर्किएका धेरै मानिस गाउँ–गाउँमा पुगेका छन्। उनीहरूबारे सरकारी संयन्त्रलाई थाहा नहुन सक्छ। तर टोल विकास समिति, उपभोक्ता समूह र आमा समूहजस्ता संगठन भने जानकार हुन्छन्। उनीहरूले ती व्यक्तिलाई घरमै वा वार्डहरूमा व्यवस्था गरिएको क्वारेन्टाइनमा राख्नका लागि महत्वपूर्ण भूमिका खेल्नसक्छन्। अहिले जनचेतनाको अभाव र सरकारी संयन्त्रको मैत्रीपूर्ण व्यवहार नहुँदा क्वारेन्टाइनलाई जेलसरी लिने धारणा पनि निर्माण भएको छ। त्यो भ्रम हटाउन पनि सामाजिक संगठनहरूको प्रभावकारी भूमिका हुन्छ।

"संकटको यो समयमा मानवता आवश्यक छ।" - डम्बर चेम्जोङ, मानवशास्त्र विभाग प्रमुख, त्रिवि

३. पहिचान र वितरण

सरकारले दैनिक ज्यालादारीमा आश्रित श्रमिक र विपन्न वर्गलाई क्वारेन्टाइन अवधीभर स्थानीय सरकारमार्फत राहत वितरण गर्ने नीति लिएको छ। तर त्यो राहत आवश्यक पर्ने मान्छे चिन्ने र ऊसमक्ष पुर्‍याउने काम सामाजिक रुपमा मात्रै हुनसक्छ। पहिचान र वितरणको यो जिम्मेवारी सामाजिक संगठनले पूरा गर्न सक्छन्।

४. आपतकालीन स्वास्थ्य सेवा

कोभिड-१९को जोखिमका बेला अन्य स्वास्थ्य समस्या पर्दैनन् भन्ने होइन। तर, यही सन्त्रासका कारण आपतकालीन स्वास्थ्य सेवा पनि नपाउने अवस्था आउनसक्छ। यस्तो दुघर्टनाबाट जोगिन सामाजिक संगठनले भूमिका खेल्न सक्छन्। उनीहरूले आफूसँग भएका एम्बुलेन्स टोलैपिच्छे स्ट्यान्ड बाई राख्न सक्छन्।

५. मनोसामाजिक परामर्श

मानिसहरू एक्लिएका छन्। उनीहरूलाई मानसिक स्वास्थ्यको खाँचो हुन्छ। यस्तो बेला खासगरी आमा समूहजस्ता सामाजिक संगठनहरूले मनोसामाजिक परामर्शको सुविधा दिनसक्छन्।

जरुरी छ सतर्कता

कोभिड-१९ सन्त्रासका बीच सामाजिक कार्य भने जोखिमपूर्ण छ। निकै नै संक्रामक भएकाले यसबाट जोगिन पनि जरुरी छ।

“सामाजिक कार्य भनेर एक्सपोजर भने हुनहुँदैन। उच्च सतर्कता अपनाउन जरुरी छ। सतर्कता अपनाइयो भने जोखिम कम छ”, डा. वन्त भन्छन्।

सतर्कताको विधि भनेको सकेसम्म घरबाट ननिस्किई काम गर्नु नै हो। लकडाउनको अर्थ घरबाट ननिस्कनु त अवश्य हो तर सामाजिक कार्यहरूबाट पन्छिनु चाहिँ होइन।

प्रतिक्रिया दिनुहोस्