ग्यास अभावसँगै बढ्यो इन्डक्सन चुल्होप्रति आकर्षण
काठमाडौं। बजारमा खाना पकाउने ग्यासको अभाव छ। सरकारले नै अभाव टार्न आधा सिलिन्डर ग्यास मात्र बिक्री वितरण गर्न निर्देशन दिइसकेको छ। यस्तो बेलामा उपभोक्ताको ध्यान विद्युतीय चुल्हो (इन्डक्सन)तर्फ मोडिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार एक सातायता दैनिक पाँच सयभन्दा बढी इन्डक्सन बिक्री भइरहेको छ।

पछिल्लो एक सातामा तीन हजार पाँच सयवटा इन्डक्सन बिक्री भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले जानकारी दिए। कम्पनीले चार हजार रुपैयाँमा इन्डक्सन बिक्री गर्दै आएको छ। कम्पनीले हरेक चुल्होमा एउटा कराही निःशुल्क उपलब्ध गराउँदै आएको छ।

“अब एक हजारवटा मात्र इन्डक्सन बाँकी छन्,” सुवेदीले भने। एक-दुई दिनभित्रै स्टक सकिने उनले बताए।

कम्पनीले काठमाडौं उपत्यकाका पाँच स्थान थापाथली, रामशाह पथ, सूर्यविनायक, जावलाखेल र नख्खुबाट चुल्हो बिक्री गर्दै आएको छ। तीमध्ये सबैभन्दा बढी थापाथलीबाट बिक्री हुने गरेको सुवेदीले जानकारी दिए।

नयाँ संविधान घोषणा भएपछि शुरु भएको नाकाबन्दीका बेला इन्डक्सनको प्रयोग अत्यधिक बढेको थियो। नाकाबन्दी खुलेपछि विस्तारै यसको प्रयोगमा कमी आयो। अहिले कोभिड-१९ को जोखिमबाट बच्न देशव्यापी लकडाउन भएयता शुरु भएको ग्यास अभावका कारण पुनः इन्डक्सनको माग बढेको छ।

सरकारले विद्युत महशुलमा पनि छुट दिएकाले पनि उपभोक्तामा इन्डक्सनप्रति आकर्षण बढेको हो। सरकारले एक सय ५० युनिटसम्म बिजुली खपत गर्दा महशुलमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीका अनुसार स्टक सकिएपछि थप चुल्हो खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ। कुन देशबाट आयात गर्ने भन्नेबारे निर्णय नभइसकेकाले नयाँ चुल्हो आउन समय लाग्ने उनले बताए।

ग्यासको विकल्प खोज्दै उपभोक्ता

सरकारले खाना पकाउने ग्यास प्रशस्त स्टक रहेको बताए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल आयल निगमले आधा भरिएको सिलिन्डर मात्र बिक्री गर्न ग्यास बिक्रेता र उद्योगहरूलाई निर्देशन दिइसकेको छ।

आधा सिलिन्डरले अभाव पूरा गर्न नसक्ने भएकाले उपभोक्ता ग्यासको विकल्पको खोजीमा लागेको सुवेदीको भनाइ छ। नेपालबाट खाना पकाउने ग्यास आयातवापत वार्षिक ३६ अर्ब रुपैयाँ बाहिरिँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्