लकडाउनमा: पढ्ने र सुन्ने कविता

किंकर्तव्यविमूढ छन् देवता

मन्दिरमा ताल्चा मारेर

हिँडिसकेको छ पूजारी

चुपचाप छन् माने र घण्ट

रसाइरहेछन् स्वयम्भुका आँखाहरू

फेरि एकपटक

बोकेर पिँठ्युमा

पृथ्वी जत्तिकै गह्रुंगो क्रस

अन्जान पर्वत चढिरहेछन् क्राइस्ट

दुहाहरूमा कतै आफैं हराइबसेका छन्

निराकार अल्लाह

हिँड्दाहिँड्दै

टक्क रोकिएको छ घडीको सुई

बन्द भएको छ कारखानाको आवाज

बन्द भएको छ क्रसरको ख्यारख्यार

बन्द भएको छ रोलर र डोजरको घ्यारघ्यार

धुँवाउन छोडेको छ इट्टाभट्टाको चिम्नी

सडक छेउमा लुकेर

घरमा फोन लगाइरहेछ रामलखन-

‘सुनेउ हो सोनियाको माई

देशमा लाकडाउन भएको छ’

‘अब कसले ल्याइदिन्छ

सोनियालाई घाँगर

माईलाई पेट दुखेको औषधि

तिमी नभएपछि त

त्यसै-त्यसै हराउँछ जाँगर’

सुँक्क-सुँक्क स्वर

मोबाइल फोनमा झुन्डिबस्छ

चोक सोध्छ-

किन आशोच बारिबसेको छ शहर ?

पिपलले वरलाई भन्छ-

मान्छे नबसेको चौपारी त

मसानघाट हुँदोरहेछ

चौरले पुतलीलाई सुनाउँछ-

पछिपछि दौड्ने केटाकेटी नभएपछि त

नवै रङ पनि फिका हुँदोरहेछ

तर, उस्तै हतारमा छिन्

अस्पतालकी नर्स

चटारोमा छन् डाक्टरहरू

प्रयोगशालाको बत्ति ननिभेको

कैयौं रात भइसकेको छ

माइक्रोस्कोपमा घोत्लिरहेछन्

एक हुल वैज्ञानिक

र, समय यतिबेला

घोप्टोपरि बसेछ

इतिहासको किताब पल्टाई

भनिरहेछ-

बन्द यी ढोकाहरू

एकदिन फेरि खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्