कैलालीमा अत्यावश्यक सेवाका पसलहरू पनि बन्द गरिँदै, घुम्ती पसलबाट घरमै सामान पुर्‍याइने
कैलाली। कोभिड-१९ फैलिन नदिन लकडाउन चलिरहेका बेला कैलाली प्रशासनले आजदेखि थप कडाई गर्ने भएको छ।
प्रहरीले लकडाउन शुरू भएयता लकडाउनको उल्लंघन गरी कामबिना बाहिर निस्कने ८०० मोटरसाइकल नियन्त्रणमा लिईसकेको छ।
सवारी पासहरू दिन रोकिएकोमा आजदेखि जनप्रतिनिधि र व्यवसायीसँग छलफल गरेर मासु तथा खाद्यान्न पसलहरु समेत बन्द गर्ने तयारी गरेको छ।
सामान खरीदका लागि भन्दै साँझ बजारमा मान्छेहरु निस्किने क्रम बढेकोले पसलहरु पूर्ण रुपमा बन्द गर्ने तयारीमा पुगेको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए।
उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी बनाउनुबाहेक अर्को कुनै विकल्प नरहेकोले अत्यावश्कीय पसलहरु पनि बन्द गर्ने निर्णयमा पुगेको बताए।
"केही न केही बहाना बनाएर मान्छेहरु बाहिर निस्किने क्रम रोकिएन। खल्तीमा दुई ट्याब्लेट औषधि हालेर अस्पताल गएको भन्नेहरु पनि भेटिए । औषधी पसलमा पनि सर्वसाधारणलाई आउन रोक लगाउदैछौँ", वडले भने, "कसैलाई औषधि आवश्यक परे घरमै उपलब्ध गराउने व्यवस्था गर्छौ । तर घरबाहिर निस्किन दिँदैनौ।"
घुम्ती पसल कहाँ-कहाँ कसरी संचालन गर्ने भन्ने बारे आजै छलफल गरेर अरु अत्यावश्यक सेवाका पसलहरू पनि बन्द गर्ने तयारी भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्