एम्बुलेन्स चालक नै भागेपछि जनस्वास्थ्य अधिकृत आफैं गएर अस्पताल ल्याए कोभिड–१९ का बिरामी

काठमाडौं। २० चैतमा नेपालमा कोरोना भाइरस संक्रमणको छैटौं केस पुष्टि भयो। त्यो केस थियो, बाग्लुङको। गत ४ चैतमा बेल्जियमबाट कतार एयरवेजको जहाजमा काठमाडौं आएकी ६५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि उनलाई तत्काल अस्पताल लैजानुपर्ने भयो।

उनलाई अस्पताल ल्याउने बेलामा जिल्ला रेडक्रस बाग्लुङको एम्बुलेन्सका चालक भागेपछि जनस्वास्थ्य कार्यलयका अधिकृत सुरज गुरौ र सोही कार्यालयका सवारी चालक रूद्र पराजुलीले बिरामीलाई धौलागिरी अस्पतालमा ल्याएर उपचार शुरू गरेका छन्।

१७ चैतमा धौलागिरी अस्पतालले संकलन गरेको ती विरामीको थ्रोट स्वाबको नमूनाको ल्याब रिपोर्ट २० चैतमा आएको थियो। जसमा उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

रिपोर्ट पोजिटिभ आएपछि धौलागिरी अस्तालले ती महिलालाई अस्पताल ल्याइदिन जिल्ला रेडक्रस कार्यालयलाई भन्यो। कोभिड–१९ पोजिटिभ देखिएको विरामी ल्याउने जिम्मा बागलुङमा जिल्ला रेडक्रस कार्यालयले लिएको छ। जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर नै काेभिड-१९ का बिरामी अस्पताल ल्याउने जिम्मा रेडक्रसलाई दिएकाे हाे।

कोभिड–१९ पोजिटिभ देखिएको विरामीलाई अस्पताल ल्याउने भनेपछि रेडक्रसका एम्बुलेन्स चालक भागे।

जनस्वास्थ्य अधिकृत गुरौ भन्छन्, “विरामी ल्याउनु पर्‍याे भनेपछि रेडक्रसका एम्बुलेन्स चालक सम्पर्कबिहिन भए। अस्पतालको ड्राइभर पनि पोखरा गएको भनेर उपलब्ध भएनन्।”

बिरामीलाई अस्पताल ल्याउने अरू विकल्प नभएपछि उनी आफै बिरामी लिन ती महिलाको घरमा गएका थिए।

“२० चैतमा हामीले कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट पाएपछि बिरामीलाई अस्पताल ल्याउन विभिन्न प्रयास गर्‍याैं तर, सम्भव भएन। त्यसैले म आफै गएर विरामीलाई अस्पतालमा ल्याएको हो”, गुरौले भने, “जनस्वास्थ्य कार्यालयका कर्मचारीलाई जानुस भन्नलाई पनि के ठान्लान् भन्ने भयो। त्यही भएर कार्यालयकै सवारी चालक लिएर विरामीको घरमा गएका हौं।”

उनले भने, “मैले र सवारी चालकले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायौं र रेडक्रसकै एम्बुलेन्समा लिएर आयौं।”

धौलागिरी अस्पतालबाट विरामीको घर पुग्न एम्बुलेन्समा करीब १० मिनेट लागेको उनले बताए। विरामीको घर बाग्लुङ नगरपालिका वडा नम्बर ३ गौडाकोटमा पर्छ।

उनीहरूले बिरामीलाई अस्पताल ल्याएर भर्ना गर्दा राती साढे १० भएको थियो।

अहिले कोरोना संक्रमति विरामीको अवस्था सामान्य रहेको गुरौले देखापढीलाई बताए। उनले भने, “बिरामीको अवस्था सामान्य छ। उहाँ पहिल्यैदेखि दमको बिरामी पनि हुनुहुँदो रहेछ।”

प्रतिक्रिया दिनुहोस्