सेनालाई दिइयो स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मा, सैनिक प्रवक्ताले भने- 'पत्र पाइसक्यौं'
काठमाडौं। स्वास्थ्य सामग्री खरीद गर्न नेपाली सेनालाई जिम्मेवारी दिने सरकारको निर्णय सम्बन्धी रक्षा मन्त्रालयले पठाएको पत्र नेपाली सेनाले प्राप्त गरेको छ।
रक्षा मन्त्रालयबाट आएको पत्र जङ्गी अड्डाले प्राप्त गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले जानकारी दिए।
“हिजो बेलुका रक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको हो”, उनले देखापढीसँग भने, “अब आवश्यक प्रक्रिया अघि बढ्छ।”
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले नै खरीद गर्ने निर्णयसँगै आवश्यक प्रक्रिया अघि बढिसकेको बताए।
“अहिले आवश्यक केही सामान बाँकी छदैछ, सानो-तिनो सामान विभागले नै खरीद गर्छ”, उनले भने, “जीटूजी खरीद प्रक्रियाबाट सामान खरीद गर्ने जिम्मा नेपाली सेनाले पाइसकेको छ। अब कोभिड- १९ संकट व्यवस्थापन (सीसीएमसी ) समितिले नै यसको प्रक्रिया हरेर सेनाले सामान खरीद गर्छ।”
“अस्पताल र स्वास्थ्यकर्मीलाई के-के अत्यावश्यक सामान चाहिने हो त्यसको सबै पक्षबीच छलफल अगाडि बढिसकेको छ”, उनले भने, “भरखरै पनि म एउटा छलफलमा सहभागी भएर आएको हुँ। अब खरीद प्रक्रियाको जिम्मा सेनाले लगिसकेको छ। आवश्यकता अनुसारको सामान खरीद हुन्छ।”
१६ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले नै ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत् जीटूजी (सरकार-सरकार) बाट खरीद गर्ने निर्णय गरेको खुलेको छ।
तर, १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले उक्त निर्णय भएको सुनाएका थिएनन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको हिजोको बैठकमा पनि सदस्यहरुले जीटूजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरीद गर्ने विषयमा छलफल गरेका थिए।
हिजोको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता खतिवडाले पनि यसअघि नै जीटूजी प्रक्रियाबाट सामान खरीद गर्ने विषयमा दुवै छिमेकी मुलुकसँग समन्वय गरे पनि सम्भव नभएपछि निजी क्षेत्रमार्फत् खरीद गरेको बताएका थिए।
खतिवडाले नै हिजोको बैठकमा जीटूजी मार्फत् अब स्वास्थ्य सामग्री खरीद गर्न सकिन्छ की भन्ने विषयमा बैठकमा छलफल भएको बताएका थिए।
चीनबाट स्वास्थ्य सामाग्री ल्याउन स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग गरेको सम्झौता १९ चैतमा रद्द गरेको थियो।
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले समयमा सामान ल्याउन सक्ने अवस्था नदेखिएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँगको सम्झौतासँगको सम्झौता रद्द गरिएको जानकारी दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्