लकडाउनको बेला ललितपुरको इमाडोलमा कसले किन ल्यायो १३ जना इन्डोनेसियाली नागरिक ?

ललितपुर। लकडाउनको समयमा एक्कासी एक हुल विदेशी नागरिक आएपछि दुई दिनअघि ललितपुरको महालक्ष्मी नगरपालिका- ४ इमाडोलकाका वासिन्दा त्रसित बने।

उनीहरूबारे खबर पाएसँगै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्‍वर श्रेष्‍ठले आफ्नो नगरमा थाहै नदिइ ल्याएर राखिएको भन्दै फिर्ता लैजान ललितपुरका प्रमुख जिल्ला अधिकारीदेखि गृह मन्त्रालयसम्म फोन गरे।

कोभिड-१९ फैलिन नदिन देशभर आवतजावत बन्द गरेको समयमा आएका ती १३ जना इन्डोनेसियाका नागरिक थिए। र, उनीहरूलाई महालक्ष्मी नगरपालिका-४ स्थित मस्जिदमा राखिएको थियो।

"कोरोना भाइरस संक्रमणको जोखिम बढेको बेला जानकारीबिना नै विदेशी ल्याएर राखेपछि स्थानीय डराउनु स्वभाविक हो। त्यही भएर मैले यहाँ नराख्न भनेको हुँ", मेयर श्रेष्‍ठले देखापढीसँग भने।

महालक्ष्मी नगरपालिकाले हिजै प्रेस विज्ञप्ति निकालेर 'सप्तरीबाट काठमाडौंको बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्रमा ल्याउने व्यक्ति वा निकायहरूको छानबिन गरी कारबाही गर्न' माग गरेको छ।

ती १३ जनालाई सप्तरीबाट सुरक्षा स्कर्टिङ्‍मा ल्याएको स्रोतले बताएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनीहरू बैंकक हुँदै २१ जनवरीमा नेपाल प्रवेश गरेको पाइएको जानकारी दिए।

"उनीहरूको 'ट्राभल हिस्ट्री' हेर्दा दुई महीनाअघि सप्तरीमा एक मुस्लिम धार्मिक सभामा आएको देखिन्छ", राईले देखापढीसँग भने, "महालक्ष्मीमा बस्न नदिएपछि अन्यत्र सिफ्ट गर्ने काम भइसक्यो।"

उनका अनुसार महालक्ष्मीको मस्जिदबाट उनीहरूलाई हिजै गोदावरी पुर्‍याइएकोमा त्यहाँ पनि स्थानीयवासीले विरोध गरेपछि अहिले सुरक्षित ठाउँमा राखिएको छ।

राईले भने, "ती नागरिक केही दिनअघि सुन्धाराको जामे मस्जिदमा पनि आएका रहेछन्। विदेशी भन्नासाथ कोरोनासँग जोडेर बहिष्कार गरेकाले अलि समस्या देखियो।"

तर, लकडाउनको संवेदनशील समयमा सप्तरीबाट पास दिएर पठाइएकोप्रति उनले आश्‍चर्य व्यक्त गरे।

उनीहरूलाई पास दिएर काठमाडौं पठाएको विषयमा बुझ्न खोज्दा सप्तरीका सीडीओ सुनील खनाल यसबारेमा सहायक सीडीओ आनन्दकुमार ठाकुरलाई थाहा भएकोले उनीसँगै सोध्न भनी पन्छिएका छन्।

प्रतिक्रिया दिनुहोस्