आजदेखि कालिमाटी तरकारी बजारमा खुद्रा व्यापार बन्द

काठमाडौं। आजदेखि कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा व्यापार बन्द हुने भएको छ।

कोरोना भाइरस संक्रमण (कोभिड-१९) बढ्न नदिन बजारमा खुद्रा व्यापार बन्द गर्न लागिएको हो।

विश्‍वव्यापी महामारी नेपालमा फैलिन नदिन यस्तो निर्णय लिइएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ। समितिका अनुसार अब लकडाउन अवधिभर खुद्रा व्यापार पूर्ण रूपमा बन्द रहनेछ।

यस्तै, बजारमा भोलिदेखि पैदल यात्री र फुटकर उपभोक्ताको प्रवेशमा पनि रोक लगाइएको छ।

समितिको निर्णयअनुसार थोक बिक्रीका लागि ल्याइएका बोरा र क्रेट प्याकेजलाई नखोली जस्ताको तस्तै बिक्री गर्नुपर्ने छ।

त्यसैगरी, तरकारी बजारमा २२ चैतदेखि दुइपांग्रे सवारी साधनलाइ प्रवेश गर्न नदिने तथा बजारको पछाडितर्फ रहेको टंकेश्‍वर तर्फको गेट पूर्ण रूपमा बन्द गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्