तबलीगी जमातको धार्मिक सभामा सहभागी एक नेपालीमा कोरोना संक्रमण

काठमाडौं। नयाँदिल्लीको निजामुद्दीनस्थित तबलीगी जमात केन्द्रमा आयोजित धार्मिक सभामा सहभागी भएका एकजना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्‍टि भएको छ।

पर्साका ६६ वर्षीय एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ। दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले एकजना नेपालीमा संक्रमण पुष्‍टि भएको अनौपचारिक जानकारी आएको बताए।

“औपचारिक रूपले यहाँको सरकारी निकायले हामीलाई जानकारी दिइसकेको छैन,” उनले देखापढीसँग टेलिफोनमा भने, “नमूना परीक्षण उनमा पोजेटिभ देखिएपछि स्थानीय अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको खबर छ।”

हरियाणाकै एक मस्जिदमा बसिरहेका आठ जनालाई भारतीय प्रहरीले छापा मार्ने क्रममा नियन्त्रणमा लिएर हरियाणाको अम्बालामा क्‍वारेन्टाइनमा राखेको थियो। तीमध्ये २ जनाको नमूना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

तीमध्ये एकजनामा कोरोना संक्रमण पुष्‍टि भएको हो भने अर्का व्यक्तिमा नेगेटिभ देखिएको छ। अन्य ६ जनाको भने परीक्षण गर्न बाँकी नै छ। कोरोना संक्रमण पुष्‍टि भएकाको स्वास्थ्य सामान्य छ।

दूतावासका उपनियोग प्रमुख रेग्मीले उक्त धार्मिक सभामा कति नेपाली सहभागी थिए भन्‍ने यकिन हुन नसकेको बताए। दिल्ली प्रहरीले धार्मिक केन्द्रमै छापामा मार्ने क्रममा पक्राउ परेका २० जनाको तथ्यांक मात्रै दूतावाससँग छ।

१३ जना निजामुद्दीनकै मदरसामा अध्ययनरत विद्यार्थी पनि छन्। तर उनीहरू सभामा सहभागी भए-नभएको खुलेको छैन। ती सबै ३३ जनालाई दिल्लीमै क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरूमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन।

कोरोना संक्रमित वृद्ध हरियाणामा एक मस्जिदमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति हुन्। उनीसहित अन्य सात जनालाई त्यहाँबाट नियन्त्रणमा लिएर अम्बालामा क्‍वारेन्टाइनमा राखिएको थियो। पर्सा जिल्लाका यी ८ जना पनि उक्त सभामा सहभागी भएको खुलेपछि उक्त धार्मिक सभामा सहभागी हुने नेपालीको संख्या धेरै रहेको अनुमान गरिएको छ।

नेपाल प्रहरीले २-३ दिनअघि पर्सा, सप्तरीलगायत जिल्लामा दिल्लीको निजामुद्दीनमा आयोजित धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा केहीलाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखेको छ। भारत र नेपालमा दुवै देशमा लकडाउन नहुनुअघि नै उनीहरू फर्किएको हुन सक्ने आशंका गरिएको छ। ्

तबलीगी जमात केन्द्रमा १ देखि १५ मार्चसम्म चलेको धार्मिक सभामा नेपालसहितका १५ विदेशी र भारतीय गरेर ४ हजारभन्दा बढी व्यक्ति सहभागी रहेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्। सभा सकिएलगत्तै करिब एक हजार ५ सय जना भारतमा लकडाउन हुनुअघि नै फर्किसकेका थिए।

अन्य मानिस लकडाउनका कारण रोकिएका थिए। दिल्ली, उत्तरप्रदेश, आन्ध्र प्रदेश, तेलंगनालगायतका राज्यमा संक्रमित भएका व्यक्तिहरू सभामा सहभागी भएको खुलेपछि भारतीय प्रहरीले तीन दिनसम्म छापा मारेर २ हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो। तीमध्ये कोरोनाको लक्षण देखिएका करिब ६ सयलाई आइसोलेसनमा राखिएको थियो भने बाँकीलाई क्‍वारेन्टाइनमा राखिएको थियो।

भारतका १९ राज्यका बासिन्दा धार्मिक सभामा सहभागी भएको खुलेपछि अहिले भारत सरकारलाई त्यहाँ सहभागी भएका मानिसको खोजी गर्न र उनीहरूसँगको कन्ट्याक्ट ट्रेसिङको काम निकै चुनौतीपूर्ण बनिरहेको छ।

भारतमा आजसम्म कोरोना भाइरसको संक्रमणबाट ७१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ५ सय ९० जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्