लकडाउनपछि पन्ध्र सयबढी विदेशी नागरिक 'एअरलिफ्ट' बाट घर फर्किए

काठमाडौं। लकडाउनको १२औं दिनको अवधिमा अहिलेसम्म पन्ध्र सय विदेशी नागरिक 'एअरलिफ्ट' बाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको देशव्यापी लकडाउनका कारण अलपत्र परेका उनीहरूलाई सम्बन्धित मुलुकको दूतावासमार्फत परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा चार्टर्ड उडानमार्फत लगिएको हो।

यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् ।

जर्मनी र फ्रान्स दूतावासले कतार एअरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन्।

उनीहरुलाई लिन दुवै जहाज काठमाडौं आइसकेका छन्।

त्यस्तै मलेसियाको मालिण्डो एअर, चेक रिपब्लिकन र श्रीलङ्कन एअरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।

कतार एअरवेजको जहाज केहीबेरमा दोहा हुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ।

आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एअरलाइन्सबाट फिर्ता लैजानेछ।

नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौं जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्