१८ लाख कर्णालीवासीलाई तीन महीना पुग्ने खाद्यान्न मौज्दात, हिमाली जिल्लामा जहाजबाट ढुवानी

सुर्खेत। लकडाउनको बेला हिमाली जिल्लामा खाद्यान्‍न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले जहाजबाट खाद्यान्‍न पठाउन थालेको छ।

कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा सम्बन्धित निकायसँग समन्वय गरी नीजि विमानबाट खाद्यान्न ढुवानी शुरू गरिएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवम् आपूर्ति समितिका संयोजक नन्दसिं बुढाले जानकारी दिनुभयो।

"लकडाउनको बेला कोही नागरिकलाई खाद्यान्न संकट नहोस् भनेर हामी गम्भीर भएर खाद्यान्न आपूर्तिमा लागेका छौँ", बुढाले भने।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयका प्रमुख भीमबहादुर थापाले हुम्लामा हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाएको जानकारी जानकारी दिए।

“डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्यन्न मौज्दात नै छ,” थापाले भने, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौँ।”

कम्पनीसँग अहिले ४४ हजार क्विन्टल खाद्यान्न मौज्दात छ।

थापाका अनुसार यो खाद्यान्‍नले कर्णालीको करीब १८ लाख जनसंख्यालाई झण्डै तीन महीना खान पुग्छ। रासस

प्रतिक्रिया दिनुहोस्