कोभिड-१९ को शंका गरिएका बिरामीलाई निःशुल्क एम्बुलेन्स

काठमाडौं। कोभिड-१९ को आशंका गरिएका बिरामी बोक्न एम्बुलेन्स चालकले नमानेपछि चिकित्सकले आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याएका समाचार पनि आए, यसबीचमा। तर, काठमाडौं उपत्यकामा त्यस्तो एम्बुलेन्स सेवा पनि उपलब्ध छ, जसले कोभिड-१९ का बिरामीलाई तत्काल अस्पताल पुर्‍याउँछ। त्यो पनि निःशुःल्क।

हालसम्म कोभिड-१९ को आशंका गरिएका ४३ जना बिरामीलाई अस्पतालसम्म पुर्‍याइसकिएको नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्‍जीत आचार्य बताउँछन्। उक्त संस्थाले ११ चैतदेखि २१ चैतसम्म नौ सय २३ जना बिरामीलाई अस्पताल पुर्‍याएको छ। तीमध्ये ४३ जना कोभिड-१९ को आशंका गरिएका बिरामी थिए।

यसअघि चीनको वुहानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकका लागि पनि सोही संस्थाका एम्बुलेन्स प्रयोग भएका थिए।

उक्त संस्थाले काठमाडौंमा अहिले आठवटा एम्बुलेन्स चलाइरहेको छ। हालसम्म कोभिड-१९ का लागि डेडिकेटेड गरेर दुईवटा एम्बुलेन्स चलाइरहेकामा आजदेखि पाँचवटा एम्बुलेन्सलाई उक्त मिसनमा खटाएको संस्थाका अध्यक्ष आचार्य बताउँछन्।

काठमाडौं उपत्यकामा उपलब्ध एम्बुलेन्स सेवा र निकट भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न आज छाउनीस्थित नेपाली सेनाको अस्पताल परिसरमा भएको छलफलपछि कोभिड-१९ का लागि पाँचवटा एम्बुलेन्स सञ्‍चालन गर्ने निर्णय गरिएको आचार्य बताउँछन्।

उक्त संस्थाले काठमाडौं कालिकास्थानमा रहेको कल सेन्टरमार्फत एम्बुलेन्स सञ्‍चालन गर्छ। १०२ नम्बरमा कल गरेपछि उक्त संस्थाका एम्बुलेन्स उपलब्ध हुन्छन्।

उक्त संस्थाले १० वर्षअघि दुई वटा एम्बुलेन्सबाट सेवा शुरु गरेको हो। १२ वैशाख ०७२ को विनासकारी भूकम्प अघिसम्म संस्थासँग पाँचवटा एम्बुलेन्स थिए। भूकम्पपछि इन्टरनेसनल मेडिकल कप्र्स नामक संस्थाको सहयोगमा पाँचवटा एम्बुलेन्स थपियो। र, काठमाडौंसहित पोखरा, भैरहवा र चितवनमा सेवा विस्तार गर्‍यो।

काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सञ्‍चालन खर्च बेहोरिदिँदै आएको छ। सोही कारण ७० वर्षमाथिको उमेरका वृद्धवृद्धा, अपांग र बालबालिकालाई निःशुल्क सेवा दिँदै आएको छ। कोभिड-१९ को शंका गरिएका बिरामीलाई पनि संस्थाले निःशुल्क सेवा दिइरहेको छ।

पोखरा र भैरहवामा कोभिड-१९ का त्यति केस नभएकाले त्यहाँका दुईवटा एम्बुलेन्स पनि काठमाडौं ल्याइएको छ।

संस्थाका तीनवटा एम्बुलेन्समा भेन्टिलेटरको सुविधा उपलब्ध छ। अमेरिकाको स्ट्यान्डफोर्ड मेडिकल युनिटले शुरुदेखि नै इमर्जेन्सी मेडिसिन टेक्निसियन तालिम दिइरहेको छ।

हरेक एम्बुलेन्समा एकजना स्वास्थ्यकर्मी र एकजना चालक हुन्छन्। आकस्मिक उपचारका लागि तालिमप्राप्त भएकाले चालकहरूलाई पाइलट भन्ने गरिएको छ।

‘सबै एम्बुलेन्स जीपीएस ट्रयाकिङमा छन्। कल सेन्टरको कम्प्युटर स्क्रिनबाटै कुन एम्बुलेन्स कहाँ छ भन्ने जानकारी हुन्छ,’ आचार्य भन्छन्, ‘र, सबैभन्दा नजिकको एम्बुलेन्सलाई कल आएको ठाउँमा पठाइन्छ।’

कोभिड-१९ का लागि तैनाथ एम्बुलेन्सलाई कालिकास्थानमा राख्‍ने गरिएको छ। अरू एम्बुलेन्सलाई उपत्यकाका ६ वटा ठाउँमा राख्‍ने गरिएको छ।

संस्थाको बोर्डमा पाटन अस्पतालका दुई चिकित्सक, त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक तथा प्रहरी र सेनाबाट अवकाशप्राप्त चिकित्सकहरू छन्। निजी क्षेत्रबाट संस्थाको व्यवस्थापनमा आचार्यसहित तीन जना छन्।

आचार्यका अनुसार सरकारले तोकेको २५ रुपैयाँ प्रतिकिलोमिटर र मेडिकल सेवावापत चार सय रुपैयाँ शुल्क लिने गरिएको छ। सोही मूल्यमा भेन्टिलेटर, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), औषधी, सीपीआर मेसिनलगायत एम्बुलेन्समा उपलब्ध सबै सेवा दिइने गरेको छ। अहिले दैनिक एक सय वटासम्म कल आउने गरेका छन्। चौबीसै घण्टा सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्