आजदेखि मास स्केलमा कोभिड-१९ को परीक्षण थालिँदै

काठमाडौं। हिजो एकैदिन तीनजनामा कोभिड-१९ देखिएपछि सरकारले आजदेखि मास स्केलमा नमूना परीक्षण गर्ने भएको छ।

हिजो, २२ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर त्यसको शुरूआत तत्काललाई तीन जिल्ला कैलाली, कञ्चनपुर र बागलुङबाट गर्ने निर्णय गरेको छ।

त्यहाँ छिटो विधिबाट परीक्षण गर्ने र त्यसको आधारमा शंका भएका व्यक्तिलाई पिसीआर विधिबाट पुनः परीक्षण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।

हिजो मात्र कैलालीमा दुई र कञ्चनपुरमा एकजनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो।

त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन्। यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाहिरबाट आएका संक्रमितबाट अर्को व्यक्तिमा संक्रमण सरेर पहिलो केस ‘लोकल ट्रान्समिसन’ भएकोले नेपाल कोभिड-१९ जोखिमको दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्।

आजदेखि सरकारले थप सावधानी अपनाउँदै एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन, जिल्ला-जिल्लाबीचको आवागमन र एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवागमनलाई पनि कडाइ गरेको छ।

प्रतिक्रिया दिनुहोस्