लकडाउनका कारण चन्द्रभैरवको जात्रा स्थगित

ललितपुर। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ।

प्रत्येक वर्ष चैत एकादशीदेखि त्रयोदशीसम्म तीन दिनसम्म यो जात्रा मनाउने चलन छ। गोदावरी नगरपालिका-११ स्थित चापागाउँको बुलुमा जात्रा हुने गर्छ।

यस वर्ष जात्रा गर्न नसकिने भएपछि परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिए।

एकादशीमा बुलुको मुख्य चोकमा खट बनाई भैरवको राखेर पूजा गरिन्थ्यो। पूजा सकिएपछि गुठीयारले भोज गर्थे। द्वादशीको दिन भैरवलाई बुलुका श्रेष्ठहरूको आँगनमा खटमा राखी पूजा गर्ने चलन थियो। त्रयोदशीमा टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो। पूजापछि दिउँसो ४ बजेदेखि रथजात्रा गर्ने चलन रहेको चापागाउँका ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए। उनका अनुसार चापागाउँ नामकरण हुनुअघि बुलुगाउँ भनिन्थ्यो।

बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो। महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको किंवदन्ती यहाँ छ। रासस

प्रतिक्रिया दिनुहोस्