चिनियाँ राष्ट्रपतिको भ्रमणः फेरिएकै हो नेपालको रणनीतिक आयाम !

काठमाडौँ। दुई दिने भ्रमणका लागि २५ असोजमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २६ असोजमा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच १८ सम्झौता र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

त्यसैमा नेपाल र चीनबीच बहुचर्चित काठमाडौं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ ।

त्यसैगरी काठमाडौं–केरूङ सडकको टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । यो लगायत अन्य विभिन्न १७ वटा विषयमा भएका द्विपक्षीय सम्झौता र समझदारी पत्र आदान/प्रदान गरिएको छ।

यसअघि २५ असोज साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति सीबीचको शिष्टाचार भेटवार्ताको क्रममा राष्ट्रपति सीले नेपाललाई आगामी तीन बर्षभित्र ५६ अर्ब १७ करोड रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

२३ वर्षपछि भएको यो तहको भ्रमण र सम्झौता–समझदारीहरूले नेपाल–चीन सम्बन्धमा दुरगामी प्रभाव पार्ने विश्लेषण शुरु भएको छ । साथै यो भ्रमणपछि नेपालको विदेश सम्बन्धमा धुव्रीकरण हुने अनुमान पनि गरिँदैछ ।

सी भ्रमणको रणनीतिक महत्व

अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक भाष्कर कोइराला चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सामरिक महत्वका दृष्टिले भन्दा आपसी सौहार्द्रता बढाउने भ्रमणको रुपमा बुझ्नुपर्ने बताउँछन्।

यो भ्रमणको ठूलो महत्व रहेको भन्दै विश्लेषक कोइराला एउटा अमुक देशको राष्ट्र प्रमुख आउँदैमा नेपालको राजनीति नै ध्रुबी हुने सोच राख्नु गलत भएको बताउँछन्।

“यो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउँछ,” विश्लेषक कोइराला भन्छन्, “तर, यो भ्रमणले नेपालको भू–राजनीतिमा कुनै प्रभाव पार्दैन।”

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नायारणकाजी श्रेष्ठ भने चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई दुरगामी महत्वको बताउँछन्।

“राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमतिले नेपाललाई अर्को अध्यायमा प्रवेश गराएको छ,” प्रवक्ता श्रेष्ठ भन्छन्, “यो भ्रमणले नेपालको महत्वलाई अन्तर्राष्ट्रिय रुपमा बढाउन सहयोग पुग्ने विश्वास लिएको छु।”

नेपाल चीनबीच १२ मे २०१७ मा सम्पन्न बीआरआई सम्झौताको कार्यान्वयनमा भएको ढिलासुस्ती देखाउँदै यी सहमति पनि कार्यान्वयनको चरणमा छिटै प्रवेश गर्नेमा धेरैले शंका पनि व्यक्त गरेका छन्।

बीआरआई सम्झौताको धारा ५.१ मा नै सम्झौता १२ मे २०२० भित्र कार्यान्वयन हुनुपर्ने उल्लेख थियो। नेपालले बीआरआई अन्र्तगत नौ आयोजनामा हस्ताक्षर गरे पनि केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन बाहेक अन्य कामले गति लिएका थिएनन्।

नेपालले प्रस्तुत गरेका नौ बुँदाका अन्य योजनामा काठमाडौँ–रसुवागढी मार्ग स्तरोन्नती, किमाथाङ्का हिले जाने सडक निर्माण, दिपायलबाट चीनको दक्षिणी सीमा जोड्ने सडक निर्माण, टोखा–विदुर सडक निर्माण, गल्छि–रसुवागढी–केरुङ ४०० केभीए ट्रान्समिसन लाइन, ७६२ मेघावटको तमोर जलविद्युत आयोजना, फुर्कोट कर्णाली जलविद्युत आयोजना, मदन भण्डारी प्रविधिक विश्वविद्यालय निर्माण समावेश थियो।

यी मध्ये अधिकांश आयोजनामा चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा कार्यान्वयन सहमति भएको छ। सहमतिको मिति सकिनै लाग्दा यी योजना कार्यान्वयनको चरणमा प्रवेश गरेका हुन्।

चीनकोे तर्फबाट धेरै प्रतिबद्धता आएको भन्दै चीनका लागि नेपालका पूर्व राजदूत राजेश्वर आचार्य अब नेपालले त्यसको कार्यान्वयनतर्पm ध्यान दिनुपर्ने बताउँछन्। प्रतिबद्धता विगतमा पनि आउने गरेको सम्झिदैँ पूर्व राजदूत आचार्य नेपालको कायान्वयनको पाटो सधैँ कमजोर हुने गरेको बताउँछन्।

“भ्रमण ऐतिहासिक भयो,” आचार्य भन्छन्, “भ्रमणको उपलब्धीलाई नेपालले आफ्नो हित अनुकुल प्रयोग गर्नुपर्छ ।”

भू–राजनीतिक मामिलाका जानकार अरुणकुमार सुवेदी भारत–पाकिस्तानका विषयमा चीन मौन र नेपालका विषयमा भारत मौन बस्ने सहमतिमा राष्ट्रपति सीको नेपाल भ्रमण भएको हुन सक्ने आशंका व्यक्ति गर्छन्। भारतको मामल्लापुरमा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको दुई दिने अनौपचारिक वार्ता सकेर सी २५ असोजमा नेपाल आएका थिए।

कूटनीतिक मामिलामा चीन संवेदनशील मुलुक रहेको भन्दै सुवेदी भन्छन्, “भारतको अरुणाचल प्रदेशमा जारी रहेको ‘हिम विजय’ सैनिक अभ्यासबीच सीको भारत भ्रमण भएको छ।”

उनी भन्छन्, “यसले पनि चीन–भारतबीच केही विषयमा सम्झौता भएर नै भ्रमण भएको देखिन्छ।”

अरुणाञ्चललाई चीनले दक्षिणी तिब्बतको भाग भएको दाबी गर्दै आएको छ।

राजनीतिक महत्व

सन् २०१८ मा चीनको वुहानमा भएको चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक बैठकमा नेपालको विषयमा पनि चर्चा भएको अनुमान गरिएको थियो।

त्यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणमा नेपालको सहमतिबिना त्रिदेशीय क्षेत्र लिपुलेकलाई दुई देशले व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए। वुहान वार्तामा पनि यस्तै केही भएको हुन सक्ने अनुमान गरिएको थियो। तर सीको नेपाल भ्रमणले त्यो आशंकालाई मेटेको विश्लेषक टिका ढकाल बताउँछन्।

चिनियाँ राष्ट्रपति सीले नेपाल भूपरिवेष्टित राष्ट्रबाट अब भूजडित राष्ट्र हुने गरेको घोषणा ठूलो राजनीतिक सन्देश भएको विश्लेषक ढकालको मत रहेको छ।

“राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई रणनीतिक स्वतन्त्रता प्रदान गरेको छ,” विश्लेषक ढकाल भन्छन्, “यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई अन्य देशसँगको सम्बन्धभन्दा फरक दृष्टिले हेर्नु पर्ने सन्देश दिएको छ।”

राजनीतिशास्त्रका प्रध्यापक कृष्ण खनालको विचार भने ढकालको विचारभन्दा केही फरक रहेको छ। राजनीतिले नै भ्रमणलाई प्राथमिकता दिने भएकाले भ्रमणको राजनीतिक महत्व भन्ने केही हुँदैन।

“चिनियाँहरू नेपाल भ्रमणका लागि उपयुक्त समयको प्रतिक्षामा थिए त्यो समय अहिले जुरेको मात्र हो”, प्रध्यापक खनाल भन्छन्।

चिनियाँहरू औपचारिकतामा र आफ्नो स्तरमा बढी ध्यान दिने खालका भएकाले सक्रिय राजतन्त्रको पालामा चिनियाँ नेताको नेपाल आवागमन बढी हुने गरेको उनी बताउँछन्।

विश्लेषक ढकाल भने राजनीतिक हिसाबमा सीको नेपाल भ्रमण दुई किसिमले महत्वपूर्ण रहेको बताउँछन्। चीनको लगानीमा कोदारी राजमार्ग निर्माण र जापानको लगानीमा वीपि राजमार्ग निमार्णमा विदेशी शक्तिले नेपालमा चलखेल गरेजसरी अबका दिनमा सो स्तरको प्रभाव नरहने विश्लेषक ढकालको तर्क छ ।

त्यसो त सन् २०१६ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सहमति र सम्झौता अब कार्यान्वयनको चरणम प्रवेश गरेको छ। यसरी हेर्दा नेपाल–चीन सम्बन्ध सन् २०१६–१९ सम्म आउँदा एउटा चक्र सम्पन्न भएको भन्न सकिने ढकालको मत छ।

सी भ्रमणको आर्थिक महत्व

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अर्थतन्त्रलाई सिधैँ प्रभाव नपार्ने अर्थ–राजनीतिका विश्लेषक भीम भूर्तेल बताउँछन्। चीनसँगको नेपालको व्यापार घाटा ठूलो मात्रामा भएको बताउँदै सीको भ्रमणले नेपाल–चीन व्यापार घाटा कम नहुने उनको मत छ । चीनबाट प्राप्त आर्थिक सहायताको प्रभाव तत्काल नदेखिने बताउँदै भूर्तेल भन्छन्, “आर्थिक प्रभावका लागि नेपालले व्यापार घाटा घटाउने दिशातर्फ लाग्नुपर्छ।”

“अर्थतन्त्र राष्ट्र स्वयंमले निर्माण गर्ने विषय हो”, भूर्तेल भन्छन्, “अरुले भरथेग गरेर देशको अर्थतन्त्र उकासिदैन।”

अर्थ–राजनीतिका अर्का विश्लेषक कल्याण रोकाया नेपालले आफ्नो उत्पादकत्व बढाउँदा मात्रै यो भ्रमणबाट फाइदा लिन सक्ने बताउँछन्। भ्रमणले नेपालको पूर्वधार सञ्जाललाई विस्तार गरेको बताउँदै विश्लेषक रोकाया अब नेपाल उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतको ‘ट्रान्जिट जोन’ बन्ने वा आफ्नो उत्पादकत्व बढाएर दुवै देशमा बजार विस्तार गर्ने भन्ने विचार गर्नुपर्ने बताउँछन्।

“यो भ्रमणको उपलब्धी पूर्वाधार सञ्जालमा मात्रै भर प¥यौँ भने भारतीय बजार चीन सर्छ”, रोकाया भन्छन्, “त्यसले नेपालको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्दैन।”

त्यसैले नेपालको जोड उत्पादकत्व बढाउन केन्द्रित हुनु पर्नेमा उनको जोड छ ।

भ्रमणले नेपालको आर्थिक आयामलाई विस्तार गर्ने भन्दै रोकायले नेपालले आफ्नो उत्पादन बढाउन जोड दिए विप्रेषणमा आधारित नेपालको अर्थतन्त्रको अन्त्य हुने बताए।

“अब नेपाल दुवै छिमेकी देशसँग पूर्वाधार सञ्जालका माध्यमबाट जोडिनेछ”, रोकायाले भने, “आफ्नो उत्पादकत्व बढाउँदै बजार विस्तार गर्न नेपाललाई यो उपयुक्त अवसर हो।”

सीको नेपाल भ्रमणलाई आर्थिक दृष्टिकोणबाट भन्दा पनि राजनीतिक दृष्टिबाट हेर्दा उपयुक्त हुने विश्लेषक भीम भूर्तेलको मत छ।

चीन विश्वकै शक्ति राष्ट्र भए पनि उसले नेपाललाई गरेको व्यवहार महत्वपूर्ण छ। नेपाल भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपति सीको लेख नेपालका प्रमुख समाचार माध्यममा प्रकाशित हुनुलाई नेपाललाई सीले महत्व दिएको रुपमा हेर्नुपर्ने भूर्तेल बताउँछन्।

नेपाल–चीनबीचको व्यापारको कुल आर्थिक घाटाभन्दा बढी चीनले नेपाललाई आर्थिक सहयोग गरेको भन्दै राष्ट्रपति सीको नेपाल भ्रमणलाई देश धनी होस् वा गरिब देश सबै समान भएको सन्देशका रुपमा बुझ्नुपर्ने भूर्तेल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्