मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
<p>मनाङ। मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन मानेका छैनन्।</p>
<p>यहाँ आइपुगेका अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायललगायत युरोपियन देशका ती नागरिकहरू स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।</p>
<p>माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ। आफ्नो देशमा भन्दा कोभिड-१९ को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ। नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन।</p>
<p>तिलिचो बेसक्याम्पतिर कति विदेशी नागरिक छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताए। “विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिड-१९ को जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ”, उनले भने। सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ संक्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ। “हामी नेपालमा सुरक्षित छौं”, उनले भने। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्