स्वास्थ्य अवस्थाकाे अनलाइन फारम भरेका मध्ये १५० जना रेडजोनमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोबाइल एप र मन्त्रालयको वेबसाइटमार्फत् स्वास्थ्य जानकारी लिन फारम भरेकामध्ये १५० जनालाई रेडजोनमा राखेको छ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा क्वारेन्टाइनमा रहेमा मानिसहरूले भरेको फारमका आधारमा आज मात्रै २४ जना रेडजोनमा रहेको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्था उल्लेख गरेर फारम भरेकाहरूको तथ्यांक अध्ययन गरेर रेडजोनमा राखिएको बताए।

“यो भनेको ती व्यक्तिहरू सम्भावित हुन सक्छन् भन्ने हो”, उनले भने, “कतिपय फारम भर्नेहरूले फोन नम्बर र ठेगाना सही नराख्दा केही असहज हुन्छ। त्यसैले फारम भर्दा सही सूचना राखिदिन अनुरोध गरिन्छ।”

आजै मात्र एकहजार ८१२ आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन फारम भरेको उनले बताए। अहिलेसम्म ८ हजार ९७ जनाले फारम भरेका छन्।

उनका अनुसार आजसम्म एकहजार ५२९ को परीक्षण भएको छ। उपत्यकाभन्दा बाहिरका ६ स्थान धरान, पोखरा, सुर्खेत, हेटौंडा, धनगढी, जनकपुरमा नमूना परीक्षण भइरहेको छ।

बुटवलमा अझै शुरू हुन सकेको छैन। सम्भवतः भोलिदेखि शुरू मन्त्रालयकाे भनाइ छ। चितवनमा आजदेखि परीक्षण शुरू भएको छ।

मन्त्रालयले उपत्यकामा १२ र बाहिर १०१ जना आइसोलेसनमा रहेको जानकारी दिएको छ।

“संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङको काम निरन्तर भइरहेको छ”, उनले भने, “हिजो कैलाली र कञ्चनपुरमा भेटिएका संक्रमित व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको छ।”

प्रतिक्रिया दिनुहोस्