लकडाउनको अवधिमा भैरहवा भन्सारमा २९ करोड राजश्व संकलन

बुटवल। कोभिड-१९ संक्रमण तथा रोकथामका लागि शुरू भएको लकडाउन अवधिको १२ दिनमा भैरहवा भन्सार कार्यालयले २९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ।

उक्त भन्सारले ११ चैतदेखि २२ चैतसम्मको अवधिमा २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ।

यस अवधिमा उक्त भन्सार नाकाबाट ग्यास बुलेट १९९, पेट्रोल ट्याङ्कर ३५, डिजेल ट्याङ्कर १२ र अन्य एक हजार ३१७ मालवाहक ट्रक भन्सार पास भएको भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।

लकडाउनको अवधिमा चामल, हरियो तरकारी, फलफूल, सर्जिकल तथा मेडिकल सामानहरू, साबुन, प्लाई, कोइला र अन्य सामानहरू भारतबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूण्यप्रसाद लम्सालले बताए।

नेपालको दोस्रो ठूलो यस भन्सार कार्यालयको दैनिक राजश्व सङ्कलनको लक्ष्य २६ करोड ६७ लाख हाे। लकडाउनका कारण राजश्व सङ्कलनमा पनि असर परेको सूचना अधिकारी लम्सालले बताए।

भन्सार एजेन्ट सङ्घ भैरहवा शाखाका उपाध्यक्ष मधुप्रसाद पन्थीले खाद्यान्न तथा आलु, प्याज र हरियो तरकारी आउनमा कुनै कमी नआएको बताउँदै बढी भन्सार शुल्क लाग्ने जीप, कार भ्यान, मोटरसाइकल, मार्बल, मोटर पार्टपूर्जा, विद्युतीय सामानहरु र उद्योग कच्चापदार्थहरु नआउँदा भन्सार राजश्वमा कमी आएको जानकारी दिनुभयो । नेपाल सरकारले भन्सार नाकामा मानिसहरुको आवतजावतमा रोक लगाए पनि ढुवानी गर्नमा भने खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्