धार्चुलामा राखिएका नेपाली भन्छन्– 'क्वारेन्टाइनको नाममा भारतीय प्रहरीको यातना' (भिडिओसहित)

काठमाडौं। “हामी आफ्नै घर नजिक आइपुगेर पनि घर फर्कन पाएनौं। अहिले कैदीबन्दी भन्दा तुच्छ व्यवहार खेप्नु परिरहेको छ”, धार्चुलाको क्वारेन्टाइनमा रहेका एक युवकले आफ्नो पीडा पोख्दै भने।

भारतका विभिन्न स्थानमा काम गरेर फर्किएका नेपालीहरू घर आउन नपाएपछि अहिले धार्चुलास्थित बलुवाकोट इन्टर कलेजमा राखिएका छन्।

नेपाल र भारतका अधिकारीहरूबीच एक अर्को देशका नागरिक जो जहाँ छन् उनीहरूलाई सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो। यो सहमतिसँगै सीमा क्षेत्र महाकाली नदीकिनार पुगेका करिब साढे तीन सय नेपाली स्वदेश फर्किन पाएनन्।

दुईदेशका अधिकारीहरूको सहमतिपछि उनीहरूलाई उक्त कजेलमा लगेर राखियो।

कोभिड-१९ को संक्रमणबाट बच्न सुरक्षित रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तर, उक्त कलेजमा क्वारेन्टाइनमा राखिएको भनिए पनि नेपालीलाई कैदीबन्दीकै जस्तो व्यवहार गरेर राखिएको छ।

“क्वारेन्टाइन भनेर यसरी राख्नुभन्दा बरू हामी स्वदेशमै बनाएको क्वारेन्टाइनमा बस्ने थियौं”, एक नेपालीले टेलिफोनमा भने, “यहाँ निकै पीडा दिएर राखिएको छ। सरकारले आफ्नै नागरिकमाथि यस्तो व्यवहार गर्‍यो।”

क्वारेन्टाइनको नाममा भारतीय प्रहरीले यातना दिने काम गरिरहेको त्यहाँ बसेका नेपालीहरु बताउँछन्।

“क्वारेन्टाइन भनेर यहाँ भारतीय प्रहरीको यातना खेप्नु परिरहेको छ”, बैतडी पुर्चौडी नगरपालिका-४ का विमल धामीले देखापढीसँग टेलिफोनमा भने,“कलेजका ग्यालरी, भर्‍याङ, बार्दलीमा कोचाकोच बनाएर राखिएको छ।”

उनका अनुसार त्यहाँ सुत्नका लागि केही व्यवस्थासमेत छैन। नेपालीहरु आफूसँग रहेको कपडा ओछाएर भूइँमा नै सुत्न बाध्य छन्।

“बेलुका ७ बजेपछि पूरै ढोकाहरु बन्द गरिदिन्छन्। शौच गर्न पनि जान पाइँदैन”, धामीले भने, “भित्रै केही भाँडामा शौच गरेर बिहान लिएर फाल्नुपर्ने अवस्था छ।”

कतिपय स–साना बालबालिकासहित पनि रहेको भन्दै उनीहरुको धेरै विचल्ली भएको पीडा उनले पोखे।

त्यहाँ राखिएकाहरुलाई दिनमा दुईपटक मात्रै खाना दिइन्छ। त्यही पनि दुई तीन दिनलाई हुने खाना एकैदिन बनाएर त्यही खाना खुवाउने गरेको त्यहाँ बसेका नेपालीहरुले बताएका छन्।

त्यहाँको पीडा सहन नसकेपछि क्वारेन्टाइनमा राखेकै अवस्थामा भागेर केही मानिसहरु महाकाली नदी तर्दै नेपाल फर्किएको धामीले बताए। त्यहाँ रहेका नेपालीहरुको थर्मामिटरले हरेक दिन तापक्रम मात्रै नाप्ने काम भइरहेको उनीहरु बताउँछन्।

फिल्ड सफाइ गर्न लगाउने, नमाने कुटपिट

क्वारेन्टाइनमा राखिएका नेपालीलाई विद्यालयको फिल्ड सरसफाइ गर्ने काममा खटाइएको छ। साँझ बिहान त्यहाँ फिल्ड र अरु सरसफाइको काममा भारतीय प्रहरीले लगाउने गरेको त्यहाँ रहेका बैतडीका युवक विमल धामीले बताए।

“हिजो राति मदिरा सेवन गरेर आएका केही प्रहरीले ३०-३५ जनामाथि हातपातसमेत गरेका छन्”, उनले भने, “कसैले मोबाइलमा कुरा गरेको देख्यो भने पनि आएर हातपात गर्छन्। केही मानिसहरूसँगको फोन त उनीहरूले खोसेका छन्।”

प्रतिक्रिया दिनुहोस्