कोभिड-१९ : चिडियाखानाकी बघिनीलाई पनि संक्रमण
न्युयोर्क। अमेरिकाको न्युयोर्कस्थित चिडियाखानामा राखिएकी एक बघिनीमा पनि कोरोना भाइरस संक्रमण (कोभिड-१९) पोजिटिभ पाइएको छ।

अमेरिकाको राष्ट्रिय भेटेनरी प्रयोगशालाका अनुसार चार वर्षकी ‘नाडिया’ नाम दिइएकी बघिनीबाट लिइएको नमुनामा कोभिड-१९ पोजिटिभ पाइएको हो। उक्त बघिनी, उसका दुई बहिनी, दुई बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्।

बीबीसीका अनुसार चिडियाखानाका एक कर्मचारीबाट वन्यजन्तुमा कोरोना भाइरस सरेको अनुमान छ।

खानेकुरामा अरुचि देखाइरहे पनि पर्याप्त स्याहार दिइएकाले बघिनीको स्वास्थ्य सामान्य रहेको भेटेनरी अधिकारीहरूले बताएका छन्। सुक्खा खोकीबाट पीडित बाघ, बघिनी र सिंहको अवस्था पनि सामान्य रहेको चिडियाखानाले बताएको छ।

वन्यजन्तुमा कोरोना भाइरसको प्रभाव कस्तो हुन्छ भन्ने जानकारी छैन। त्यसैले ती सबैलाई निगरानीमा राखिएको चिडियाखानाले बताएको छ। चिडियाखानामा रहेका हिउँचितुवा, चितुवालगायत अन्य बाघ प्रजातिमा कोभिड-१९ को लक्षण देखिएको छैन।

न्युयोर्कका चारवटा चिडियाखाना गत १६ मार्चदेखि आगन्तुकका लागि बन्द छन्। कोरोना भाइरसबाट मानवको नजिकैका नातेदार गोरिल्ला, चिम्पान्जी र ओराङ्टनलगायत जीवहरू जोखिममा भएको चेतावनी संरक्षणविदहरूले दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्