नेपालमा पहिलो ‘लोकल केस’ देखिएको परिवारका संक्रमित युवाको ‘ट्राभल हिस्ट्री’ हेर्दा

काठमाडौं। नेपालमा २२ चैत दिउँसोसम्म कोभिड-१९ बाट संक्रमित भेटिएका सबै ६ जना विदेशबाट आएका व्यक्तिहरू थिए। विदेशमा हुँदा भएको संक्रमण नेपालमा आएर परीक्षण गर्दा मात्र पुष्टि भएको थियो। तर, २२ चैत दिउँसो थप तीन जनामा संक्रमण देखिएकोमा त्यसमध्ये एक जना नेपालमै भएको संक्रमित थिए। तीनमध्ये एक जना मुम्बईबाट फर्किएका पुरूष, अर्का एक जना उत्तराखण्डबाट फर्किएका पुरूष थिए भने तेस्रो व्यक्ति धनगढीकी स्थानीय महिला थिइन्। उनले हालै विदेश यात्रा नगरेको र यसअघि कैलालीमा संक्रमित भेटिएका व्यक्तिको आफन्त भएका कारण उनलाई तिनै संक्रमितबाट सरेको हुनसक्ने आशंका गरिएको छ।

पहिलोपटक स्थानीयस्तरमै संक्रमण सरेको भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपाल कोभिड-१९ को दोस्रो चरणमा प्रवेश गरेको बताए। यसले संक्रमण फैलिनसक्ने जोखिम बढाएकोले थप सचेत हुन आवश्यक रहेको उनले बताए। त्यो भनेको भीडभाड नगर्ने तथा व्यक्तिगत दूरी बढाउने नै हो। यसो गर्दा संक्रमित व्यक्तिबाट आफूमा वा आफू संक्रमित भइएको रहेछ भन् अन्य व्यक्तिमा सर्ने सम्भावना कम हुनजान्छ। ११ चैतदेखि देशव्यापी लकडाउन गर्नुपरेको पनि यसैकारण हो।

कोही पनि संक्रमित व्यक्ति भेटिएमा उसको सम्पर्कमा पुगेका अन्य व्यक्तिलाईसमेत कोभिड-१९ सर्न सक्छ। त्यसैले ती व्यक्तिलाई पछ्याउने, उनको सम्पर्कमा आएका व्यक्तिको समेत पहिचान गरी उनीहरूलाई पनि क्वारेन्टाइनमा राख्ने, कोभिड-१९ को लक्षण देखिएमा संक्रमण भए-नभएको परीक्षण गर्ने र संक्रमित देखिएमा तुरून्तै उपचार गर्ने विधि नै कोभिड-१९ नियन्त्रण र रोकथामको तरीका भएको चिकित्सकहरू बताउँछन्। तर, नेपालमा कोभिड-१९ फैलिएको मुलुकबाट आएका व्यक्ति र उनीहरूको सम्पर्कमा पुगेकालाई त्यसरी निगरानीमा राखिएको छ त ?

नेपालमा अहिले संक्रमित रहेका ८ जनामध्ये (एक जना निको भइसकेका) सात जना ४ चैतपछि विदेशबाट नेपाल आएकाहरू छन्। ४ चैतपछि नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको ७ चैतसम्मको अवधिमा ९६ वटा अन्तर्राष्ट्रिय उडान भएकोमा १० हजार भन्दा बढी यात्रु नेपाल भित्रिएका छन्। उनीहरूमध्ये कतिलाई त्यसरी ‘कन्ट्याक ट्रेसिङ’ गरिएको होला रु संक्रमण देखिएपछि धनगढीस्थित अस्पतालमा उपचार गराइरहेका एक जना युवाको दुबईबाट धनगढीसम्मको यात्रा पछ्याउँदा भने गम्भीरतापूर्वक ‘कन्ट्याक ट्रेसिङ’ गरिएको जस्तो देखिदैन।

उनको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनी ६ चैतमा फ्लाई ईमिरेट्सको ईके ०१५० को उडानमार्फत् दुबईबाट भारतको नयाँ दिल्ली ओर्लिए। त्यहाँ विमानस्थलमै रात बिताए र अर्को दिन ७ चैतमा भिस्टेरा एयरको यूके ०१५५ उडानमार्फत् काठमाडौं ओर्लिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी लिएर धापासीस्थित मामाको घर गए। त्यहाँ मामाको छोरा मात्र बस्ने गरेको बताइएको छ। रात त्यहीं काटेपछि अर्को दिन धनगढी जान हवाई टिकट नपाएपछि उनी बुद्ध एयरमार्फत् नेपालगञ्ज झरे। त्रिभुवन विमानस्थलदेखि धापासी जाँदा र अर्को दिन विमानस्थल फर्कँदा उनले ट्याक्सीमा यात्रा गरेका थिए।

नेपालगञ्ज विमानस्थलबाट अटो रिक्सामा उनी कोहलपुर पुगे ८ चैतमा। कोहलपुरदेखि कैलालीको अत्तरियासम्म सार्वजनिक यातायातको साधन हाइसमा गएका उनले त्यहाँबाट धनगढी चौराहसम्म जान पनि विङ्गर प्रयोग गरे। चौराहबाट करीब चार किलोमिटर टाढा रहेको घरसम्म अटो रिक्सामा गए। यो बिचमा उनी कतिजनाको सम्पर्कमा पुगे भन्ने यकीन नै गरिएको छैन।

ट्याक्सी चालकदेखि अटो रिक्सा चालक तथा हवाईजहाजका यात्रु, विमानस्थलका कर्मचारी, सुरक्षा जाँच गर्ने सुरक्षाकर्मीदेखि परिवारकै सदस्यसम्म पनि उनीमार्फत् संक्रमण फैलिएको हुनसक्छ। ती सबैको पहिचान र निगरानी गर्ने काम पक्कै सजिलो छैन तर, त्यसो नगरी सुखै छैन।

८ चैतमा घर पुगेका उनी त्यसपछि छरछिमेक र घरपरिवारका सदस्यसँग सम्पर्कमै रहे। चार वर्षपछि विदेशबाट फर्किएका उनमा आफन्त र साथिभाई भेट्ने उत्सुकता हुने नै भयो, त्यतिन्जेल संक्रमण नदेखिएकाले पनि जोखिम महशुसै गरेनन्। यसबीचमा उनी क-कसको सम्पर्कमा पुगे भन्ने पनि पहिचान गरी ती सबैको परीक्षण गरिहाल्नुपर्ने भएको छ।

ज्वरो आउने तथा स्वास फेर्न असजिलो हुने भएपछि ११ चैतमा उनी आफ्ना भिनाजुले चलाएको मोटरसाइकलमा बसेर सेती प्रादेशिक अस्पताल पुगे। त्यहाँ रहेको आइसोलेसन वार्डमा भर्ना गरेर उनको स्वाबको नमूना परीक्षण गर्दा १४ चैतमा उनलाई कोभिड-१९ भएको पुष्टि भयो। २३ चैतमा गरिएको दोस्रो परीक्षणमा पनि उनलाई कोभिड-१९ पोजिटिभ नै देखिएको छ। २२ चैतमा एकैघर बस्ने भाउजुलाई पनि संक्रमण देखिएपछि उनको सम्पर्कमा पुगेका अन्य व्यक्तिलाई पनि सरेको हुनसक्ने आशंका गरिएको छ।

काठमाडौंमा उनी पाहुना बसेको घरका उनको मामाका छोरा र बिरामी भएपछि धनगढी घरबाट सेती प्रादेशिक अस्पतालसम्म मोटरसाइकलमा पुर्याउने उनका भिनाजुको पनि स्वाबको नमूना परीक्षण गरिएकोमा त्यसको रिपोर्ट आज, २४ चैतमा आएको छ। पहिलो परीक्षणमा दुवैलाई संक्रमण देखिएको छैन।

उनकी भाउजुलाई २२ चैतमै संक्रमण देखिएको छ। उनीबाट पनि थप केहीलाई सरेको हुनसक्ने सम्भावना रहेकाले उनको सम्पर्कमा पुगेका व्यक्तिहरूमा पनि थप परीक्षणको आवश्यकता देखिएको छ। यद्यपी एकाघरका अन्य सदस्यमा भने पहिलो परीक्षणमा कोभिड-१९ देखिएको छैन।

- धनगढीबाट दीपक नेपालको सहयोगमा।

प्रतिक्रिया दिनुहोस्