तीन महीनायता विदेशबाट घर फर्किएकाहरूको खोजी गर्दै बागमती प्रदेश सरकार

हेटौंडा। माघ महीना पछाडि विदेशबाट घर फर्केकाहरूको विवरण संकलन गरी प्रदेश सरकारमा पठाउने व्यवस्थाका लागि बागमती प्रदेश सरकारले स्थानीय तह र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

त्यस्तै प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बनाउने निर्णय गरिएको छ।

प्रदेश कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हिजो, २४ चैतमा बसेको बैठकले केन्द्रको सदस्यहरूमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातारबरण मन्त्री अरुणप्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुखसचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत छन्।

अन्य सदस्यहरूमा मध्यपृतनाका उपरथी, सामाजिक विकास मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिव, बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख, सशस्त्र प्रहरी कार्यालय बागमती प्रदेशका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालयका प्रमुख छन्।

केन्द्रका सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रहने निर्णय गरिएको छ।

बैठकले प्रदेशमा खाद्य उपलब्धताको आँकलन गर्ने र स्थानीय तहसँगको समन्वयमा दैनिक ज्यालादारी श्रमिकहरूको लगत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार गरी आवश्यक ब्यबस्था मिलाउन निर्देशन दिइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले कोभिड-१९ सम्बन्धि सम्भावित जोखिम र त्यसको समाधानको लागि स्रोत व्यवस्थापनसम्बन्धी खाका सहितको योजना तयार गर्ने, कोभिड संकट ब्यबस्थापन केन्द्र स्थापना गरी समितिका सदस्य सचिवले सूचना प्रवाह गर्ने, हाल सञ्चालनमा रहेको कोरोना नियन्त्रण सूचना केन्द्रको सञ्चालन आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत गर्ने र हरेक दिन ४ बजे सूचना अपडेट गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै बनाइएका क्वारेन्टाइनस्थलहरू परिमार्जन गरी मापदण्ड अनुसार गुणस्तरीय बनाउन स्थानीय तहलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्