ट्रम्पले भने- मलेरियाको औषधी नदिए प्रतिशोध लिइने छ

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाविरुद्धको औषधी निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन्।

कोरोना भाइरसको संक्रमण (कोभिड-१९)को उपचारमा मलेरियाविरुद्धको औषधी उपयोगी हुन सक्ने ट्रम्पको भनाइ छ। त्यसैले उक्त औषधीको सहज आपूर्तिको व्यवस्था गर्न उनले प्रधानमन्त्री मोदीलाई आग्रह गरेका हुन्।

‘मलाई त्यो निर्णय मन परेको छैन र मलाई उनको (मोदीका) त्यो निर्णयको बारेमा जानकारी पनि छैन,’ ट्रम्पले भने, ‘यदि उनले निर्णय लिएको भए पुनर्विचार गर्न आग्रह गर्छु।’

भरखरै प्रधानमन्त्री मोदीसँग आफूले टेलिफोन संवाद गरेको उल्लेख गर्दै ट्रम्पले मलेरियाविरुद्धको औषधी उपलब्ध गराइदिए अमेरिका भारतसँग धन्य हुने आफूले बताएको पनि जानकारी दिए।

गत आइतबार भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइन नामक औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो। उक्त औषधी कोभिड-१९ को उपचारमा उपयोगी हुने ट्रम्पले बताउँदै आएका छन्।

अमेरिकाका लागि तत्काल दुई करोड ९० लाख क्लोरोक्‍वाइन या हाइड्रोक्लोरोक्‍वाइन पिल्स आवश्यक रहेको ट्रम्पले बताए। र, भने, ‘यदि त्यो प्राप्त हुँदैन भने ठीकै छ। तर, निश्चित रूपमा त्यसको प्रतिशोध लिइने छ।’

प्रतिक्रिया दिनुहोस्