स्वास्थ्यमन्त्री ढकाल भन्छन्- कोभिड–१९ को उपचारमा १८ अस्पताल तयार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले देशैभर कोभिड-१९ को विशेष उपचार गर्न १८ वटा अस्पताल तयार पारेको बताएका छन्।

विश्‍व स्वास्थ्य दिवस २०२० को शुभकामना व्यक्त गर्दै मन्त्री ढकालले संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले प्रभावकारी रूपले काम गरिरहेको बताए। उनले सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामग्रीबिना काम गर्ने परिस्थितिको सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

“हाल नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। अझै थप संक्रमण हुन नदिन आम जनसमुदाय, तीनै तहका सरकार र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूलाई थकाइ नमारिकन निरन्तर खट्न, जुट्न र एकताबद्ध प्रयास गर्न हार्दिक अपिल गर्दछु,” उनले भने, “कथंकदाचित महामारी फैलिएर बिरामी हुने र अस्पतालमा उपचार गर्नुपर्ने स्थिति सिर्जना भए अस्पताल तयार गरिएका छन्। त्यहाँ कार्यरत चिकित्साकर्मीहरुले उच्च मनोबलका साथ उपचार तथा स्वास्थ्य सेवा दिने प्रबन्ध मिलाइएको छ।”

कोभिड-१९ महामारीको यस परिस्थितिमा ‘नर्स र मिडवाइफहरूलाई सहयोग गरौं’ नाराका साथ मनाउन लागिएको ‘विश्‍व स्वास्थ्य दिवस २०२०’ ले नर्स, मिडवाइफलगायत सम्पूर्ण चिकित्साकर्मीको महत्वलाई अझ बढावा दिएको मन्त्रालयले जनाएको छ।

“यो महामारी विरुद्धको लडाइँको अग्रमोर्चामा रहेर सम्पूर्ण स्वास्थ्यकर्मीले अदम्य साहस र उत्साहका साथ मानव स्वास्थ्य रक्षाका खातिर गरिरहनु भएको अमूल्य योगदानप्रति मन्त्रालयको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,” उनले भने।

सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्‍न सबैलाई शतप्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय नेपाल सरकारले गरिसकेको उनले बताएका छन्।

त्यसैगरी देशभरका ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकालाई पनि थप एक हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएकाले सबैलाई सहयोग गर्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्