प्रधानमन्त्री ओलीले भने- 'आउँदो दुई साता थप चुनौतिपूर्ण'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुईसाता थप चुनौतिपूर्ण हुने बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभएर समुदायमा फैलिने उच्च जोखिमको अवधि भएकाले चुनौतिपूर्ण हुने बताएका हुन्।

उनले देशमा महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास केन्द्रित गरेको भन्दै यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास व्यक्त गरेका छन्।

“यस परीक्षण मार्फत् सम्भावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ।” उनले सम्बोधनमा भनेका छन्।

प्रधानमन्त्रीले समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको बताएका छन्।

उनले अनिवार्य क्वारेन्टाइनमा बस्नकै लागि सरकारले लकडाउन गरेको भन्दै अहिलेसम्मको धैर्यतालाई धन्यवाद दिदै आगामी एकसाता पनि धैर्य गरिदिन आव्हान गरेका छन्।

प्रधानमन्त्रीले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको बताए।

“९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ। ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ। हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ।”, सम्बोधनका क्रममा उनले भनेका छन्, “सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ।”

प्रधानमन्त्रीले सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको जानकारी दिँदै हिजोसम्म एक हजार ८९० जनाको परीक्षण गरिसकिएको बताए।

सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रूत परीक्षण (र्‍यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पूरा सेट– एक हजार ४८ थान, गाउन ११ हजार ८ १९ थान, एन ९५ मास्क ४ हजार ३४५ थान, मास्क ५ लाख ६५ हजार २६१ थानसहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका छन्।

भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिन लागेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले हजारौँको संख्यामा नेपालीहरू घर फर्किएका र कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको बताएका छन्।

“नेपालमा लकडाउन शुरू भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ।”,

प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्,“तर संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ। भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनुभएका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ। सीमाको वारीपट्टि रहेका करीब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं।”

प्रतिक्रिया दिनुहोस्