भ्रष्टाचारको आरोपमा प्रतिवाद गर्दै प्रधानमन्त्रीले भने- 'निराधार कुप्रचार नगरौं'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदमा लागेको भ्रष्टाचारको आरोपको प्रतिवाद गरेका छन्।

आज राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले भने, सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्। त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो ।"

अवस्था सामान्य या असामान्य भएपनि सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्ने र सुशासनका मानकमा ती खरो उत्रिनै पर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि नहुने बताए।

"तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ", उनले भने, "समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।"

उनले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने उल्लेख गर्दै भने, "कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।"

प्रतिक्रिया दिनुहोस्