अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न सरकार पछि पर्ने छैन : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि नपर्ने प्रष्ट पारेका छन्।

आज राष्ट्रका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदलगायत विषयमा भएको आलोचनामा टिप्पणी गर्दै महामारीका बेला स्वास्थ्य सामग्री खरिद गरेको विषयलाई अतिरञ्जित गर्ने काम किमार्थ उचित नभएको बताएका छन्। उनले नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने बताएका छन्।

“सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्। त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो।”, उनले सम्बोधनमा भनेका छन्।

अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्ने उनको भनाई छ। सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षण भन्दा माथि नहुने भन्दै उनले तीनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहने बताए।

“कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ।” प्रधानमन्त्रीले भनेका छन्,“समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ।”

मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो भएको प्रधानमन्त्रीको टिप्पणी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्