कांग्रेसले उपनिर्वाचनमा तालमेल नगर्ने
काठमाडौं। आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अरु दलसँग तालमेल नगर्ने बताएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा उपनिर्वाचनका लागि चुनावी तालमेलमा जुटिरहँदा कांग्रेसले भने तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नेबारे नसोचेको प्रवक्ता विश्वप्रकाश शर्माले देखापढीलाई बताए।

“आज बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने वा नगर्ने आधिकारिक निर्णय गर्नेछ, अहिलेसम्मको कुरा अनुसार सबै ठाउँमा पार्टीले आफ्नै उम्मेदवार उठाउनेछ”, प्रवक्ता शर्माले भने, “गठबन्धन गर्दा कहाँ कसलाई छाड्ने भन्ने हुन्छ, चुनावमा हामी प्रमुख प्रतिस्पर्धी दल हौं, तयारी त्यही अनुसारको छ।”

स्थानीय तह, प्रदेश सभा र संघीय संसदसमेत उपनिर्वाचन हुने ५२ वटै ठाउँमा सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेस मूख्य प्रतिस्पर्धी देखिएका छन्।

उपनिर्वाचन अन्तर्गत एक जना प्रतिनिधि सभा सदस्य, तीन जना प्रदेश सभा सदस्य, एक उपमहानगरपालिकाका मेयर, २२ जना नगरपालिकाका वडाध्यक्ष तथा गाउँपालिकामा ४ जना अध्यक्ष/उपाध्यक्ष र २१ जना वडाध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख अजेण्डा उपनिर्वाचनको उम्मेदवारको सन्दर्भ हुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

पौडेलले केही स्थानीय तहका उम्मेदवारहरुको नाम सिफारिस भएर केन्द्रमा आइसकेको बताएका छन्। उनका अनुसार धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिश भएको छ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएपछि रिक्त कास्की क्षेत्र नम्बर २ मा आकांक्षी सबभन्दा बढी छन्। पौडेलले भने, “कांग्रेस ठूलो पार्टी हो नेताहरु धेरै छन्, आकांक्षी पनि स्वभाविक धेरै हुन्छन् नै, नामहरुमाथि छलफल गरेर बैठकले टुंग्याउँछ।”

यसअघि २९ असोजमा बसेको नेकपाको सचिवालय बैठकले उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिहरुको नामावली १० कात्तिकमा सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्