सरकारको नेतृत्व आलोपालो गर्ने कुनै सहमति भएको छैनः कार्यवाहक प्रधानमन्त्री पोखरेल

विराटनगर। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए।

उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुनु सामान्य कुरा भएकाले यसलाई विवाद भन्न नमिल्ने उनकाे भनाइ छ।

“अखबारमा आएका दुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे।

रक्षामन्त्री पोखरेलले नेत्रविक्रम चन्द समूहले राखेको शर्तको आधारमा वार्ता हुुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए।

उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको प्रष्ट पारे। रासस

प्रतिक्रिया दिनुहोस्