आयोजनाहरूको काम गुणस्तरीय ढङ्गले समयमै गर्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका आयोजना प्रमुखहरूलाई ठूला र राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका आयोजनाहरूलाई गुणस्तरीय ढङ्गले समयमै सम्पन्‍न गर्न निर्देशन दिएका छन्।

छिटो र छरिटो ढङ्गले काम गर्दै त्यही अनुसार अनुगमन गर्ने संयन्त्र बनाएर अगाडि बढ्न पनि मन्त्री नेम्बाङले निर्देशन दिए।

“वर्तमान सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न भौतिक पूर्वाधार क्षेत्र महत्त्वपूर्ण छ”, उनले बुधबार सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका आयोजनाहरूको समीक्षा कार्यक्रममा भने, ‘भौतिक पूर्वाधार निर्माणका लागि इञ्‍जिनियरिङ क्षेत्रको जनशक्तिको भूमिका रहन्छ र इञ्‍जिनियरिङ परिषदको कानुन निर्माणलाई सरकारले अगाडि बढाएको छ।”

आयोजना प्रमुखहरूलाई नयाँ आर्थिक वर्ष २०७७/०७८ को सुरु भइसकेकाले बाह्रै महिना काम गर्ने सोचका साथ कार्य क्षेत्रमा लाग्‍न निर्देशन पनि दिएका छन्। तर, बेरुजु हुने गरी काम नगर्न उनको सुझाव छ।

“नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने क्रममा बेरूजु नहोस् र महालेखा परीक्षकको कार्यालयले बेरूजु औंल्याउनु नपरोस्”, उनले भने, “भएको बेरूजु पनि फछ्र्यौट गर्नेतर्फ लाग्‍नुहोस्।”

सही मनसायका साथ छिटो र छरितो ढङ्गले आयोजनाको काम अगाडि बढाउँदा हुने मानवीय त्रुटिहरूमा आफूले साथ दिने पनि मन्त्री नेम्बाङले आश्‍वासन दिए।

फरक प्रसङ्गमा उनले यो आर्थिक वर्षमा डेढ लाख फुसको छानो भएको घरमा जस्तापाता लगाइने पनि बताएका छन्। आर्थिक हिसाबले सबैभन्दा तल्लो तहको जनताको जीवनसँग जोडिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जस्तापाता लगाइने बताए। वर्तमान सरकारको घरमा फुसको छानो प्रतिष्थापन गर्ने योजना छ।

मङ्गलबार र बुधबार भएको आर्थिक वर्ष २०७६/०७७ को समीक्षा कार्यक्रममा सहरी तथा भवन निर्माण विभाग अन्तर्गतका आयोजना प्रमुखहरूले प्रस्तुतीकरण गरेका थिए।

समीक्षापछि १८ बुँदे घोषणापत्र पनि जारी भएको छ। कार्यक्रमममा सहरी विकास सचिव मधुसुधन अधिकारी, विभागका महानिर्देशक मणिराम गेलाल तथा विभाग अन्तर्गतका आयोजना र डिभिजनका प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्