सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन- उद्योगमन्त्री भट्ट

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्त्वमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई अर्को चुनाव नभएसम्म सरकारको नेतृत्त्व तथा महाधिवेसन नभएसम्म पार्टी अध्यक्षबाट हटाउन नहुने स्पष्ट पार्दै मन्त्री भट्टले नेकपासामू अहिले नयाँ इतिहास निर्माण गर्ने मौका भएको बताए।

“केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो। पार्टीले सरकारलाई सहयोग गर्नुपर्छ। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन्,” राजधानीमा आज एक कार्यक्रममा मन्त्री भट्टले भने, “वर्तमान सरकारलाई पाँच वर्ष निरन्तरता दिएर इतिहास रच्‍ने र अस्थिरताको ‘ब्रेक–थ्रू’ हुनुपर्छ। पार्टीभित्रको वर्तमान सबै विवाद सहमतिमै हल हुनेमा म विश्वस्त छु। किनकी सहमतिको विकल्प छैन।”

मन्त्री भट्टले आफ्नो पार्टीमा नेताहरूबीच निक्कै बहस र छलफल गरेर सहमतिबाट परीणाम निकाल्ने संस्कार रहेको बताउँदै थपे, “पार्टी भनेको एकता, संघर्ष र रूपातन्तरणबाटै चल्ने हो।”

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको कारण दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसकिरहेको आरोप लगाए।

वर्तमान सरकारले गरेका राम्रा काम र उपलब्धीहरू जनतासमक्ष लगेर त्यस्ता प्रवृत्तिलाई पराजित गर्ने उनको भनाई थियो।

मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पार्दै भने, “म दुवै अध्यक्षको क्याम्पमा छु। दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ भन्ने मेरो मान्यता हो। यसो भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही।”

प्रतिक्रिया दिनुहोस्